सुनको भाउ तोलाको ९० हजार नाघ्यो

काठमाडौं, ७ असार । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाउँदै गएको छ । आइतबार प्रतितोला ७०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ पुगेको छ।

गत शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ९४० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ९३० रूपैयाँमा कारोबार भएको थियो।