कामका लागि विदेशिने घटे, रेमिटेन्स बढ्यो

काठमाडौं १३, वैशाख । पछिल्ला वर्षमा रोजगारीका लागि विदेशिने नेपालीको संख्या घटदै गएको छ ।

मलेसिया, कतार, साउदी अरबलगायत धेरै नेपाली काम खोज्न जाने राष्ट्रमा विभिन्न समस्या आएपछि रोजगारीका लागि विदेशीनेको संख्या घटेको हो ।

मुलुकमा राजनीतिका स्थायित्वपछि रोजगारीका अवसर बढेकाले पनि कामका लागि विदेशिने नेपाली घटेको विज्ञहरु बताउँछन ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत वर्षमा कामका लागि विदेशिने संख्या करिब १० प्रतिशतले घटेको छ । त्यस्तै, चालू आर्थिक वर्षको आठ महिनामा यो संख्या ३८.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्षको आठ महिनामा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

रेमिटेन्स आप्रवाह बढ्यो

कामको लागि विदेशिने नेपालीको संख्या घटेपनि रेमिटेन्स आम्दानीमा भने वृद्धि भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा रेमिटेन्स आप्रवाह २३.४ प्रतिशतले बढेर ५८२ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ४.९ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह ११.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।

त्यस्तै अघिल्लो वर्ष पनि रेमिटेन्स आप्रवाहमा ८.६ प्रतिशतले बढेर ७५५ अर्ब ६ करोड रुपैयाँ नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here