खुलामुखी सामुहिक लगानी योजनालाई पहिलो पटक अनुमति

काठमाडौं, १५ बैशाख । नेपालमा पहिलोपटक खुलामुखी सामुहिक लगानी योजना (ओपन इण्डेड म्युचुअल फण्ड योजना)ले अनुमति पाएको छ ।

सरकारको नीति तथा कार्यक्रमअनुरुप नेपाल धितोपत्र बोर्डले  सञ्चालन अनुमति दिए पछि ओपन इण्डेड म्युचुअल फण्डको कारोबार हुने भएको हो । हालसम्म नेपाली बजारमा बन्दमुखी (क्लोज इन्डेड) सामुहिक लगानी योजना मात्र सञ्चालन छन् ।

लगानीकर्ताबाट संकलन गरिने रकमको मात्रा, समय सीमा नतोकी जुनसुकै समयमा पनि इकाइहरु बिक्री गर्न सकिने गरी जारी गरिने सामूहिक लगानी योजनालाई खुल्लामुखी योजना भनिन्छ ।

‘एक योजना व्यवस्थापकलाई प्रयोगात्मक रुपमा प्रारम्भिक आकार ५० करोड रुपैयाँ हुने गरी पहिलो खुलामुखी सामूहिकलगानी योजना संचालन गर्न अनुमति प्रदान गरेको छ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘उक्त योजनाअन्तर्गत पहिलो चरणमा १२ करोड ५० लाख रुपैयाँ बराबरको ईकाइहरु सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री खुल्ला हुनेछ ।’

खुलामुखी योजनाका बिशेषता:

बन्दमुखी योजना जस्तो खुलामुखी योजना स्टक एक्स्चेन्जमा सूचीकरण नहुने र धितोपत्र दलालमार्फत कारोवार नहुने ।

योजनाको खुद सम्पत्ति मूल्यको आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरीदबिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताले चाहेको बखत सहजै इकाई खरीदबिक्री गर्न सक्ने ।

खुलामुखी योजना निश्चित अवधिमा परिपक्व हुने नभई निरन्तर संचालनमा रहने ।

लगानीकर्ताले ईकाइ खरिद गर्दा कुनै शुल्क नलाग्ने ।

बन्दमुखी योजना जस्तै खुलामुखी योजनाको प्रतिइकाई मूल्य १० रुपैयाँ हुने र न्यूनतम १ हजार रुपैयाँ सम्ममा इकाई खरीद गर्न सकिने ।

लगानीकर्ताको माग अनुसार योजनाको आकार बृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउन सकिने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here