सगरमाथाबाट १५ दिनमै ३ टन फोहोर ल्याइयाे

काठमाडौं, १५ वैशाख । सगरमाथा सफाई अभियानको १५ दिनमा ३ टन (३ हजार केजी) फोहोर सङ्कलन भएको छ ।

वैशाख १ गतेबाट सुरुवात भएको सफाई अभियानमा १२ जनाको टोली खटिएको सगरमाथा सफाई अभियानका संयोजक डण्डुराज घिमिरेले बताए ।

नेपाली सेनाको एमआई १७ हेलिकप्टरले सङ्कलित ३ हजार केजी फोहोर मध्ये २ हजार केजी फोहार ओखलढुङ्गामा राखेको र १ हजार केजी काठमाडौंमा ल्याई ‘ब्ल्यूओष्ट टु भ्यालु’ नामक संस्थालाई जिम्मा लगाईसकेको पनि उनले बताए ।

वैशाख १ गतेबाट सुरुवात भएको सफाई अभियानको टोली लुक्लाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सरसफाई गर्देै हाल सगरमाथा बेस क्याम्प पुगेको र मंगलबारबाट पुन बेस क्याम्प २÷३ को सफाई कार्यक्रम सुचारु गरिने संयोजक घिमिरेले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाली सेना, प्रदेश नम्बर एक सरकार, खुम्बु पासाङ ल्हामु गााउँपालिका आदी संघसंस्थाहरु सहकार्यमा सगरमाथा सफाई अभियान सञ्चालन भएको हो ।

सङ्कलन आएका सबै फोहार जेठ १५ गते सगरमाथा दिवसको दिन नाम्चे बजारमा प्रदर्शन गरिने र कानुनी रुपमा पुनःप्रयोग गर्न मिल्ने फोहारलाई जेठ २२ गते विश्व वातावरण दिवसको दिन काठमाडौंमा प्रदर्शन गरी पुनःप्रयोग गरिने बताईएको छ ।

अभियानको लागि २ करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान छ । त्यसको लागि विभिन्न सरकारी र निजी दुवै क्षेत्रहरुबाट सहयोगको प्रतिबद्धता आएको पनि उनले बताए ।

नेपालको गौरव सगरमाथाको सरसफाई नेपालीको लगानीमा, नेपाली जनताले नै गर्नुपर्छ भन्ने अवधारणाबाट सफाई अभियानको सुरुवात गरिको संयोजक डण्डुराज घिमिरेले बताए ।

अभियानमा प्रयोग हुने सम्पुर्ण हेलिकप्टर, मेडिकल र अन्य सहयोगको प्रतिवद्धता नेपाली सेनाले गरेको छ ।

सगरमाथा सफाई अभियान सफल भएमा अर्को वर्ष अन्य हिमालहरुको सफाई गर्ने सोच पनि रहेको उनले बताए । अभियान ४५ दिन अर्थात जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here