काठमाडौं, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण टोलीमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले नेपालमा अहिले लगानीको लागि उपयुक्त समय भएको बताएका छन् ।
बेइजिङमा आइतबार आयोजित नेपालमा लगानीका अवसर तथा नेपाल–चीन आर्थिक सम्बन्ध विस्तार विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनाइ व्यक्त गरेका हुन् ।
राष्ट्रपति भण्डारीको उपस्थितीमा आयोजना भएको कार्यक्रममा सम्बोधनका क्रममा ढकालले सरकारको लगानी मैत्री नीति तथा कानूनहरू परिमार्जनसंगै लगानीको वातावरण बन्दै गएको बताउँदै नेपालमा यतिखेर लगानीका लागि उत्कृष्ट समय रहेको प्रष्ट पारे ।
कार्यक्रम वेइजिङस्थित नेपाली राजदूतावास र ‘द इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्शियल स्टक इन्टरप्राइजेज’ले संयुक्त रुपमा आयोजना गरेको हो ।
चिनिया उद्यमी व्यवसायीहरूको समेत बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा ढकालले नेपालमा लगानीका लागि अन्तराष्ट्रिय लगानीकर्ताको आकर्षण समेत बढ्दै गएको पनि बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट उक्त संयुक्त मञ्चलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले सरकारले गत महिना सम्पन्न गरेको लगानी सम्मेलनमा नेपालमा लगानीका लागि विदेशी लगानीकर्ताहरूको उत्साहजनक प्रतिबद्धता आएको र यसबाट निजी क्षेत्रका उद्यमी व्यावसायीहरू पनि उत्साहित भएको बताए ।
नेपालका उद्योगी व्यावसायीहरू चिनियाँ व्यावसायीहरूसँग मिलेर नेपालमा संयुक्त लगानीमा काम गर्न इच्छुक रहेको पनि उनले बताए ।
सन् १९९६ देखि नै दुवै देशका उद्योगी व्यावसायीहरूले व्यापारिक, सांस्कृतिक एवम् विविध क्षेत्रको सम्बन्ध सुदृढिकरणका लागि काम गरिरहेको जानकारी पनि उनले दिए ।
नेपाल लगानीका लागि उर्वर भूमि रहेको बताउँदै ढकालले नेपालमा पूर्वाधार निर्माण, उर्जा, पर्यटन, निर्माण क्षेत्र, सिमेन्ट उद्योग, फलाम खानी, केबलकार, रिसोर्ट तथा व्यावसायिक कृषि लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ उद्यमीलाई आग्रह गरे ।
चीनले अगाडी सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्सबाट दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धको प्रवद्र्धन र विकासमा ठूलो सघाउ पुग्ने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको उपाध्यक्ष ढकालले बताए ।






















