पन्ध्रौं योजनाको आधार–पत्र मन्त्रीपरिषदको स्विकृतिको लागि पेश गरिने

काठमाडौं, १५ वैशाख । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पन्ध्रौं योजनाको आधार–पत्र मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रस्ताव पेश गर्न स्वीकृत गरेको छ ।

प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष के.पी.शर्मा ओलीको अध्यक्षतामा आइतबार आयोगको सभाहलमा बसेको बैठकले अगामी पाँच वर्षको अवधि (२०७६/७७ देखि २०८०/८१) समेट्ने पन्ध्रौं योजनाको आधारपत्र नेपाल सरकार, मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रस्ताव पेश गर्न स्वीकृत गरेको हो ।

साथै, बैठकमा प्रधानमन्त्रीले आयोग मातहत रहेको केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको राष्ट्रिय तथ्यगत विवरण प्रणालीको डाइनामिक अनलाइन डाटापोर्टलको शुभारम्भ समेत गरे ।

राष्ट्रपतिले आ.व. २०७५।७६ मा नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बुँदा नं. २० मा ‘अबको हाम्रो विकास सूचना र तथ्याङ्कको गहन विश्लेषण, अनुसन्धान र प्रमाणमा आधारित हुनेछ । त्यसका लागि देशको भूगोल, प्रकृति, स्रोतसाधन, क्षमता र सम्भावनाका सम्पूर्ण सूचनाहरूको राष्ट्रिय तथ्यगत विवरण तयार गरिनेछ’ भन्ने महत्वपूर्ण नीति उल्लेख भएअनुसार उक्त पोर्टल तयार गरिएको हो ।

संघ, प्रदेश तथा स्थानीय तहको साझा डाटा प्लेटफर्मको रुपमा रहने गरी उक्त प्रणालीको निर्माण गरिएको आयोगले बताएको छ ।

सरकारी निकायहरुबाट उत्पादित स्थानीय, प्रदेश र केन्द्रीयस्तरका सूचना तथा तथ्याङ्कलाई सूचना प्रविधि मार्फत एकीकृत गरी वितरण गर्ने प्रयोजनका लागि अनलाइन डाटापोर्टल तयार गर्नु राष्ट्रिय तथ्यगत विवरणको प्रमुख उद्देश्य रहेको आयोगले बताएको छ ।

आगामी दिनमा ओपन डाटाको सिद्धान्तअनुरुप तथ्याङ्कको माग बमोजिम अझ बढी प्रयोगकर्तामैत्री बनाइने र भौगोलिक सूचनाको महत्वलाई आत्मसात गर्दै राष्ट्रिय तथ्यगत विवरणको आगामी भर्सनहरुमा भौगोलिक सूचना प्रणाली को उपयोग गरिने आयोगको योजना समेत रहेको छ ।

यस प्रणालीको आधिकारिक डाटा पोर्टल nationaldata.gov.np रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here