नेपाल टेलिकमको वेबसाइट परिमार्जन, के-के थपियो सुविधा ?

काठमाडौं, १२ साउन । नेपाल टेलिकमको वेबसाइटलाई परिमार्जन गरिएको छ।

टेलिकमले थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाएको बताएको छ।यसको प्रयोगमार्फत विभिन्न जानकारी तथा सुविधाहरु प्राप्त गर्न सकिने टेलिकमको दाबी छ ।

वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

त्यस्तै सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिने र आफन्त वा साथीभाईलाई प्याकेज गिफ्ट दिन पनि टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध ब्यालेन्सको बारेमा पनि वेबसाइटबाटै जानकारी लिन सकिन्छ ।

रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवामा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाइसी फर्म यहीँबाट भर्न सकिन्छ । कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्डस एन्ड फेमली (एफएनएफ) सेवा, नमस्ते क्रेडिट सेवा, मिस्ड कल अलर्ट (एमसीए) सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस (भीएएस), फोरजी एलटीई सेवा, फाइबर टु द होम (एफटीटीएच) सेवा, एडीएसएल (एडीएसएल) सेवा, कर्पोरेट युजर ग्रुप (सीयूजी) जस्ता सेवाका बारेमा जानकारी लिन पनि सकिन्छ।

कम्पनीद्वारा उपलब्ध गराइएका पोस्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाका थप विशेषताका बारेमा यसबाट प्रशस्त उपयोगी जानकारी प्राप्त गर्न सकिन्छ। त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अंकहरु मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिन्छ।

कम्पनीका विविध गतिविधिहरुको जानकारीका लागि प्रकाशित गरिएका प्रेस विज्ञप्ति र न्युजलेटरसमेत यहीँबाट अध्ययन गर्न सकिन्छ। साथै कम्पनीले मासिक रुपमा प्रकाशन गर्ने एनटी न्युजलेटर कम्पनीको वेबसाइटबाट सब्सक्राइबसमेत गर्न सकिन्छ।

नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुका बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ।

आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनै पनि सेवाका बारेमा खोजी गर्न अर्थात सर्च गर्न सकिने सुविधासमेत वेबसाइटको होमपेजमै उपलब्ध छ। होमपेजको मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरुका बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ।

वेबसाइटको होमपेजमै विभिन्न डाटा प्याकेजहरुको जानकारी उपलब्ध छ। यहीँबाट आफूलाई आवश्यक डाटा प्याकेज खरिद गर्न सकिन्छ। पछिल्लो समयमा लोकप्रिय मानिएका डाटा प्याकेजहरुलाई क्रमशः राखिएकाले धेरै ग्राहकले यसको प्रयोगलाई सहज मान्ने गरेका छन्।

यसको अलावा नेपाल टेलिकम मोबाइल एपका बारेमा जानकारी पनि कम्पनीको वेबसाइटमा उपलब्ध छ। मोबाइल एपको प्रयोग गरेर सहज रुपमा विभिन्न सुविधा लिन र प्रयोग गर्न सकिन्छ।

साथै डाउनलोडमा गएर कम्पनीको प्रबन्धपत्रदेखि विभिन्न सेवाका फारामहरु, बोलपत्र आह्वान आदि प्राप्त गर्न सकिन्छ भने न्युजस् एन्ड अपडेट्सबाट कम्पनीको वार्षिक स्मारिका, महत्वपूर्ण सूचनाहरु तथा विभिन्न शैक्षिक कार्यक्रमका नतिजाहरु सहज रुपमा प्राप्त गर्न सकिन्छ।

कम्पनीका मोबाइल सेवा, ल्यान्डलाइन टेलिफोन, एफटीटीएच तथा एडीएसएल सेवाका बारेमा विविध जानकारी प्राप्त गर्न र सोधपुछ गर्न तथा गुनासा दर्ता गराउनका लागि प्रयोग हुने विभिन्न सर्ट कोड्स पनि वेबसाइटबाट प्राप्त गर्न सकिन्छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here