काठमाडौं, १२ साउन । नेप्सेमा सूचीकृत श्रीराम सुगर मिल्स सधैंका लागि बन्द भएको छ ।
करिब २ दशक अघि सञ्चालनमा आएको रौतहट जिल्लाकै पहिलो चिनी मिल्स पछिल्ला वर्षहरुमा निरन्तर घाटामा परेपछि स्थायी रुपमा बन्द भएको हो ।
शुरुका केही वर्षमा नाफामा रहे पनि वर्षैपिच्छे घाटा थपिने क्रम बढेपछि उद्योग सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको कम्पनीले जनाएको छ ।
गोल्छा र विशाल समूहको लगानी रहेको यस चिनी मिलको गत आर्थिक वर्षसम्मको उद्योगको कुल घाटा दुई अर्ब १७ करोड ७५ लाख ५५ हजार ३७६ रुपैयाँ पुगेको छ ।
यस्तो विषम परिस्थितिमा उद्योग सञ्चाल गर्नका लागि सबैतिरबाट अनुकूल नभएसम्म उद्योगलाई स्थायी रुपमै सधैँका लागि बन्द गर्नुको विकल्प नरहेको उद्योग व्यवस्थापनले जनाएको छ। सोही कारण हिजो आइतबारदेखि उद्योग स्थायी रुपमै बन्द गर्ने निर्णयमा उद्योग व्यवस्थापन पुगेको विज्ञप्तिमा जनाइएको छ।
पुँजी अभावमा विगत चार महिनादेखि त्यहाँ कार्यरत श्रमिकहरूको सञ्चय कोषवापतको रकम र तलबसमेत भुक्तानी हुन सकेको छैन । उद्योगका अनुसार अब चल–अचल सम्पत्ति बेचेरै पनि कर्मचारीको तलब भुक्तानी गरिने तयारी छ ।
३० करोड ४५ लाख ९९ हजार चुक्ता पुँजी रहेको कम्पनीको ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । आज पनि कम्पनीको सेयर नेप्सेमा कारोबार भइरहेको छ ।
























