नेपालमा बाढी, पहिरो र चट्याङले डेढ महिनामै १४७ जनाको मृत्यु, ५१ बेपत्ता

काठमाडौं, १३ साउन । मनसुन शुरु भएसँगै (जेठ ३० गतेदेखि साउन ११ गतेसम्म) नेपालमा १४७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परी करिब डेढ महिनाको अवधिमा १४७ जनाको मृत्यु र ५१ जनाको बेपत्ता भएका छन् ।

पहिरोबाट सवैभन्दा धेरै १२७ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक, म्याग्दी, संखुवासभा लगायत जिल्लामा बढी मानिसको पहिरोमा परी ज्यान गएको छ।

विभिन्न स्थानमा पहिरोमा परी ४५ जना बेपत्ता छन्। उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायत खोजी कार्य गरिरहेका छन् ।

पहिरोमै परी ११४ जना घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

मनसुन शुरु भएपछि बाढिबाट ३ जनाको मृत्यु, ६ जना बेपत्ता र १ जना घाइते भएका छन् । त्यस्तै चट्याङबाट १७ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन्। गएको २४ घण्टामा मात्रै पहिरोमा परी तीन जनाको मृत्यु भएको छ।

प्राधिकरणका अनुसार,सोमबार राति आएको पहिरोले बाग्लुङको तमानखोला गाउँपालिका–२ का पानबहादुर विकको घर पुरिंदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो ।

जल तथा मौसम विज्ञान विभागले न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको बताएको छ । विभागको अनुसार अझै तीनदिन सम्म अविरल वर्षाको संभावना रहेकाले सचेत रहन आग्रह गरेको छ। केही स्थानमा वर्षा भइरहेको र वर्षाको संभावना कायमै रहेकाले सचेत रहन विभागले विज्ञप्ति मार्फत् आग्रह गरेको छ।

मौसमविद्को अनुमान यस्तो छ :

साउन १४ गते (बुधबार)

दिउँसोः देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

राति : देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

साउन १५ गते (बिहीबार)

दिउँसोः देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

राति : देशभर साधारणतयादेखि अधिकांश बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, प्रदेश ५, र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।