काठमाडौं, १४ साउन । नेपालमा कोरोना भाइरस संक्रमणको कारण थप तीन जनाको ज्यान गएको छ ।
बुधबार पर्सामा थप दुई जना र धरानमा एक जनाको ज्यान गएको हो । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र दिउँसो ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको अस्पतालले जनाएका छन् । निधन भएका पुरुषहरुमा दीर्घरोग रहेको बताइएको छ ।
७१ वर्षका पुरुष पखाला लागेर उपचार गर्न नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनी मिर्गौलाको समस्याबाट पिडित रहेको बताइएको छ ।
उनको आइतबार पिसिआर परीक्षण गरिएको थियो । ६८ बर्षीय पुरुष समेत मुटु र निमोनियाका बिरामी रहेको अस्पतालले जनाएको छ ।
उता, धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा साँझ ज्यान गएको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार एक ४५ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी नै रहेको छ ।