विदेशमा रहेका ३७ हजार ४ सय नेपालीको उद्धार, सबैभन्दा बढी यूएईबाट फर्किए

फाइलफोटो/ सीसीएमसी

काठमाडौं, १८ साउन । सरकारले कोभिड–१९ को संक्रमणको कारण विदेशमा अलपत्र नेपालीहरुको उद्धार कार्य जारी छ ।

सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि साउन १६ गतेसम्मको अवधिमा ३७ हजार ४ सय २४ जना स्वदेश फर्किएका छन् । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन मसान्तसम्म बन्द राख्ने निर्णय गरेपनि चाटर्ड उडान मार्फत उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

सीसीएमसीको तथ्यांक अनुसार त्यस अवधिमा सबैभन्दा धेरै युएई स्वदेश फर्किएका छन् । युएईबाट ८ हजार ५ सय ३८ जना नेपाल फर्किएका छन् । कुवेतबाट ६ हजार सय १ सय ७९ जनाको उद्धार भएको हो । मलेसियाबाट ५ हजार ३ सय ८४ जना नेपालीहरू स्वदेश फर्किएका छन्।

जापानबाट ७ सय ५६ जना, अफगानिस्तानबाट ३३ जना, हङकङबाट ८९ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ७ सय ९५ जनाको उद्धार गरिएको छ।

यस्तै बंगलादेशबाट ८ सय ४१ जना, ओमानबाट ४ सय ९२ जना, माल्दिभ्सबाट ७ सय ९ जना नेपाल फर्किएका छन् ।

यसैगरी कतारबाट ३ हजार ९ सय ४१ जना, श्रीलंकाबाट ५ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट ७ सय २० जना नेपाल फर्किएका छन्। सिंगापुरबाट २ सय ९७, पाकिस्तानबाट ७२,अमेरिकाबाट ४ सय २३ र भारतबाट ८० जनाको उद्धार गरिएको छ ।

हालसम्म विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि विदेशका र नेपालबाट हिमालय र नेपाल एयरलाइन्सले उडान गरिरहेका छन् । साउन १६ सम्म २४१ वटा उडान भएका छन् ।

सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि थप ५४ उडान गर्न अनुमति दिएको छ । उद्धार उडान आगामी शनिबार (८ अगष्ट) सम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here