कोरोनाको शंका छ ? उपत्यकाका यी १४ अस्पतालमा गएर दिनुहोस् स्वाब

काठमाडौं, २० साउन । नेपालमा लकडाउनको अत्यसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

काठमाडौँ उपत्यकामा संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको दायरालाई बढाउने निर्णय गर्दै स्वाब संकलनमा सहयोग गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमण बढेको भन्दै नियन्त्रणमा सहयोग गर्न मंगलबार एक सूचना जारी गर्दै उपत्यकाका १४ अस्पतालमा गएर स्वाब संकलन गर्न अनुरोध गरेको हो ।

सूचनामा कोरोनाको शंका लागेकाहरुले नजिकैको स्वाव संकलन केन्द्रमा गएर पीसीआर परीक्षणको लागि सहयोग गरिदिन आग्रह गर्दै काठमाडौं उपत्यकामा कोरोना संक्रमण जोखिम बढी रहेको हुँदा शंकास्पद संक्रमितहरुको खोजी गर्ने काम तीव्र बनाइएको सूचनामा उल्लेख छ ।

शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु जोखिमयुक्त स्थाहरुबाट आउनुभएका व्यक्तिहरुले नजिकको स्वाब संकलन केन्द्रमा बिहानको ९ बजेदेखि दिउँसोको १ बजेसम्म गई स्वाब परीक्षण गर्नमा सहयोग गर्न सर्वसाधारण/अस्पतालहरु सबैमा यो अनुरोध गरिन्छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारले स्वाव संकलनका लागि कोभिड क्लिनिक सञ्चालन गरिरहेका अस्पताल, हब हस्पताल तथा लेभल एक दुई र तीनका अस्पतालाई तोकेको छ।

पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल र त्रिवि शिक्षण अस्पताल रहेका छन्। यस्तै वीर अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, प्रसूति अस्पताल, सशस्त्र (युनिफाइड) अस्पताल बलम्बुलाई पनि स्वाब संकलन गर्ने बुथ तोकिएको छ ।

यसैगरी स्टार अस्पताल सानेपा, ह्याम्स अस्पताल धुम्बाराही, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र नेपाल कोरिया मैत्री अस्पताललाई पनि नमूना संकलन गर्ने बुथ तोकिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा जारी अनुसार सर्वसाधारणले आफूलाई पायक पर्ने अस्पतालमा गएर स्वाब संकलन गराउन सक्नेछन् ।

मन्त्रालयले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न, घर बाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कन, भिडभाड नगर्न, चाडपर्वहरु घरमै बसी मनाउन पनि अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here