अख्तियारका २० जनामा कोरोना संक्रमण

काठमाडौं, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिए ।

यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती संक्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् ।

यसैगरी गत मंगलबार नै महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने सङ्क्रमण नदेखिएको पौडेलले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब संकलन गरिएको थियो ।

अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वाेच्च अदालत र जिल्ला अदालत काठमाडौंमा कोभिड–१९ परीक्षणका लागि स्बाव संकलन गरिरहेको छ । मन्त्रालयमा ८२, सर्वोच्च र जिल्ला अदालतमा ३०० जनाको स्वाब सङ्कलन गरिएको महाशाखाका मेडिकल टेक्नोलोजिस्ट पौडेलले जानकारी दिए ।

यसअघि महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो । – रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here