काठमाडौं, २२ साउन । नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको हो ।
गौतमको अनुसार सर्लाही ६५ वर्षीया महिला साउन २१ गते काठमाडौंको बलम्बुमा मृत्यु भएको छ ।
धनुषाका ७२ वर्षीया महिलाको साउन १७ गते मृत्यु भएको र उनका पनि कोरोना देखिएको हो । उनको साउन १७ बिहान ३: ४८ बजे उनको निधन भएको हो ।
मोरङका ४५ वर्षीय पुरुषको साउन २१ गते कोशी अस्पतालमा मृत्यु भएको र उनमा कोरोना परीक्षणबाट पोजेटिभ देखिएको हो । मोरङका एक ४५ वर्षीय अर्का पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सप्तरीमा ४२ वर्षीय पुरुषको साउन २१ गते राति निधन भएको छ । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
मृतकमध्ये ५१ पुरुष, १३ महिला र १ शिशु छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् ।
उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् । नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । १५ हजार ३ सय ८९ जना डिस्चार्ज भैसकेका छन् ।