राजविराज विमानस्थलमा रिफ्युलिङको व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौं, २० बैसाख । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले राजविराज विमानस्थलमा हवाई इन्धन रिफ्युलिङको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सप्तरीको राजविराज विमानस्थललाई व्यवस्थित गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

विमानस्थलमा रिफ्युलिङको व्यवस्था नहुँदा राजविराज विमानकम्पनीको आकर्षणमा पर्न सकेको छ्रैन ।

करीब एक दशक बन्द रहेको सो विमानस्थल गत वर्षदेखि सञ्चालनमा आएको थियो । तर, रिफ्युलिङ सुविधा नहुँदा उडान गर्न अप्ठेरो रहेको विमान कम्पनीहरुले बताउँदै आएका छन् । वुद्ध एयरले त एक विज्ञप्ति नै जारी गरेर आफू जान चाहे पनि रिफ्युलिङ सुविधाकै कारण राजविराज उडान गर्न नसकेको बताएको थियो ।

राजविराजमा हवाई सेवा सुचारु हुँदा स्थानीयका साथै सिमावर्ती क्षेत्रका भारतीय पर्यटक पनि लाभान्वित हुनेछन् ।
त्यसैगरी, राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रको व्यवस्थापन तथा सञ्चालन चाँडो गर्न पनि समितिले निर्देशन दिएको छ । समितिले यसअघि गरेको स्थलगत अनुगमन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन गरेको हो ।

साथै, पेट्रोल पम्प तथा एलपी ग्यासको फिलिङ प्लाण्ट स्थापन गर्ने सम्बन्धमा सञ्चालक समितिले गरेका निर्णयहरु तथा त्यसको प्रक्रिया सम्बन्धि सम्पूर्ण विवरण आफूलाई बुझाउन पनि उसले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here