काठमाडौं, २७ साउन । सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने व्यवस्था पुनः सुरु गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ को व्यवस्था गरेको बताए ।
यसअघि साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू भएको थियो । त्यस्तै सरकारले भारतबाट नेपाल आउने नागरिकका लागि मुलुकका विभिन्न १० वटा नाका मात्रै प्रयोगमा ल्याउने निर्णय भएको छ ।
खतिवडाले दिएको जानकारी अनुसार भारतबाट स्थलमार्ग हुँदै आउने नागरिकले लागि अब काकडभिट्टा, रानी, माधव, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी नाका प्रयोग गर्न पाउनेछन् ।
स्वदेश आउनै पर्ने नेपालीलाई स्थलमार्गबाट आउन यसअघि २० नाकाबाट प्रवेश दिइएकोमा अबदेखि १० नाकाबाट मात्रै नेपाल भित्रन दिइने निर्णय गरेको उनले बताए ।