यसरी लिनुहोस् अनलाइन सेयर कारोबारको लागि घरबाटै युजरनेम र पासवर्ड

काठमाडौं, १० भदौं । सेयर बजारमा अनलाइन कारोबार गर्नका लागि लगानीकर्ताले अब घरबाटै आफ्ना विवरणहरु भरेर पठाउन सक्ने भएका छन् ।

कोरोनाको कारण ब्रोकर कार्यालयसम्म पुग्न असहज बनेपछि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले ग्राहक पहिचान खाता (केवाईसी) र अनलाइन युजर खाताको फारम घरैमा बसेर भर्न सकिने सुविधा ल्याएको हो ।

साथै, अनलाइनमार्फत नै केवाइसी पनि अद्यावधिक गर्न सकिनेछ ।

यसका लागि नेप्सेले सबै ब्रोकर कम्पनीहरुको टीएमएस लिंकमा अनलाइन रजिष्ट्रेसन गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

यो सुविधा कार्यान्वयनमा आएसँगै आवश्यक युजरनेम र पासवर्ड लिन अब लगानीकर्ताहरु ब्रोकर कार्यालयसम्म धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

नयाँ व्यवस्थाबाट अनलाइन प्रयोगकर्ता बढाउन सहयोग पुग्ने नेप्सेको भनाई छ । कोरोना संक्रमण बढेका बेला भौतिक दूरी कायम गर्न समेत सहयोग पुग्नेछ ।

कसरी भर्ने अनलाइन फारम

ब्रोकरको टिएमएसको लिंकमा गएपछि त्यहाँ रजिष्टर भन्ने आउँछ । उक्त अप्सनमा गएपछि एउटा फारम आउँछ, त्यो भनुपर्ने हुन्छ । संसारको कुनै पनि स्थानमा बसेर अनलाइनमार्फत यो भर्न सकिने नेप्सेले बताएको छ ।

त्यसका लागि ‘टिएमएस ब्रोकर नम्बरसहितको नेप्से टिएमएस डटकम डट एनपी’ मा गएपछि एउटा फारम आउने र लगानीकर्ताले त्यो फारम भरेर सबमिट गरेपछि ब्रोकरले त्यसलाई हेरेर भेरिफाइ गर्नेछ ।

यसमा अनलाइनबाटै लगानीकर्ताले आफ्ना मागेका व्यक्तिगत विवरणका साथै, बैंक विवरण, प्रडक्ट विवरण, डीपी विवरण र डकुमेन्ट अप्सनहरुले मागेका काजगातहरु अपलोड गरेर फारम भरेपछि सबमिट गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here