१२ जिल्लामा कोरोना समुदायस्तरमा फैलिसकेको संकेत, चार जिल्ला ‘हटस्पट’

काठमाडौं, १६ भदौं । सरकारले नेपालका १२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको संकेत दिएको छ ।

स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने दैनिक पत्रकार सम्मेलनमा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार जनस्वास्थ्य वैज्ञानिक डा. सुरेश तिवारीले १२ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको संकेत गरेका हुन् ।

तिवारीले हालसम्म फेला परेका संक्रमितमध्ये ७३ प्रतिशत १२ जिल्लाका रहेको बताए। प्रवक्ता जागेश्वर गौतमले काठमाडौं, ललितपुर, रौतहट, सर्लाही, चितवन, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, र रुपन्देहीमा संक्रमितको संख्या पाँचसय भन्दा माथि रहेको बताएका थिए ।

तिवारीले प्रवक्ता गौतमले भनेका १२ वटा जिल्लामध्ये काठमाडौं, पर्सा, रौतहट र सर्लाहीमा हाल सक्रिय संक्रमितको संख्या उच्च बताए । उनले संक्रमण नियन्त्रणका लागि परीक्षणको दायरालाई बढाउनु पर्ने सुझाव दिए।

उनले पछिल्लो समय मृत्यु हुनेमा वृद्धहरूको संख्या धेरै भएको र संक्रमण पनि वृद्धहरूलाई नै बढी देखिएको बताए। उनले विभिन्न तथ्यांकका आधारमा कोरोना समुदायमा फैलिएको भन्न सकिने बताए।

‘एक महिनाअघि संक्रमित महिलाको संख्या ८ प्रतिशतको हाराहारीमा थियो। अहिले यो बढ्दै गएको छ र २२ प्रतिशत पुगेको छ,’ उनले भने, ‘वृद्धहरुमा समेत संक्रमणको दर बढेको छ। संक्रमण बढी भएको जिल्लाहरुमा ९६ प्रतिशत केस स्थानीय भएको देखिएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here