सिन्धुपाल्चोक लिदीका पहिरो पिडितलाई एनआरएनएको आर्थिक सहयोग

काठमाडौं, १७ भदौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ ।

पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बीच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गरे ।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले वर्तमान कोभिड (१९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावीत भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साट्टासाट्टा गर्न मात्र आएको बताए ।

उपाध्यक्ष लामाले आगामी दिनमा वर्तमान कोभिड (१९ को परिस्थिति सहज भए पछि सरकारसँग समन्वय गरेर जाने बताए ।

गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा ठोस योजना बनाएर सहकार्य गरि अगाडि बढ्न तयार रहेको बताए ।

सो कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ, जुगल गाउँपालीका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरुको सहभागिता थियो

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्‍याउँदा १५६ भन्दा बढी मानीसहरु प्रभावित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here