काठमाडौं, १९ भदौं । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ।
सरकारले १७ भदौदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेपछि यो वायुसेवाले आफूले उडान गर्ने गन्तव्यको उद्धार उडानको तालिका र भाडादर सार्वजनिक गरेको हो ।
हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान १७ गते अर्थात् सेप्टेम्बर २ मा काठमाडौं–माले–काठमाडौं उडान गरेको छ ।
त्यस्तै, सेप्टेम्बर ३, ६, ८, २३ तारिखमा काठमाडौं–दोहा–काठमाडौं, सेप्टेम्बर ९, १७, २२ र २९ तारिखमा काठमाडौं–दमाम–काठमाडौं (साउदी अरेबिया) र सेप्टेम्बर १५ मा काठमाडौं–कुवेत–काठमाडौं एउटा उडान हुने कम्पनीले जनाएको छ।
सरकारले स्वीकृत गरेको भाडादरमा यो वायुसेवाले उद्धार उडान गर्दै आएको छ। सार्वजनिक गरेको भाडादर भन्दा बढी एजेन्सीले लिएमा कारबाही हुने चेतावनी पनि हिमालयले दिएको छ।
हिमालयले नियमित उडानहरुका लागि उपलब्ध सिटहरु ग्लोबल ड्रिस्ट्रिब्युसन सिस्टम (जीडीएस) बाट बुक गर्न सकिनेछ। ट्राभल एजेन्सीहरुले पनि जीडीएसबाटै सीटहरु बुक गर्न सक्ने यो वायुसेवाले जनाएको छ।
कम्पनीका अनुसार माले–काठमाडौं उडानको लागि ४८० अमेरिकी डलर, दोहा–काठमाडौंको लायिग ३९२ अमेरिकी डलर, दमाम–काठमाडौंको लागि ४६५ अमेरिकी डलर र कुवेत–काठमाडौंको लागि ४१० अमेरिकी डलर भाडादर तोकिएको छ।
सरकारको निर्णयअनुसार कोभिड–१९ महामारीबाट विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने अनुमतिअनुरुप उडान तालिका बनाइएको हिमालयले जनाएको छ।
कम्पनीका अनुसार उडानमा सहभागी यात्रुले पीसीआर परीक्षण भएको रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ र रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ।
त्यस्तै काठमाडौंमा होटल बुकिंग भएको कागजात समेत देखाउनुपर्नेछ। विमान ८५ प्रतिशत अकुपेन्सी नभए चार्टर्ड उडान नहुने पनि बताइएको छ।


























