निजी प्रयोगशालाबाट कोरोना परीक्षण गर्नेलाई बीमा दाबी भुक्तानी नदिन निर्देशन

काठमाडौं, १९ भदौं । अब निजी प्रयोगशालामा कोरोना पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए पनि कोरोना बीमा दाबी भुक्तानी नपाउने भएका छन् ।

बीमा समितिले कारोना बीमा कार्यविधिलाई देखाउँदै निजी ल्याबबाट परीक्षण गर्नेलाई दाबी भुक्तानी नदिनबीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

पछिल्लो समय निजी प्रयोगशालाबाट नक्कली रिपोर्ट ल्याएर दाबी भुक्तानी गर्ने क्रम बढेको आशंका गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

यो निर्देशनसँगै उत्साहपूर्वक कोरोनाबिमा गराउनेहरुले आफूहरु ठगिएको महसुस गरेका छन् ।

सरकारी ल्याबबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी ल्याबमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको देखिएको भन्दै समितिले निजी प्रयोगशालाको परीक्षणलाई मान्यता नदिन भनेको हो ।

बीमा दाबी भुक्तानी लिन सरकारी निकायले पीसीआर पोजेटिभ भएको पुष्टि गरेको हुनुपर्छ । यसैगरी निजी ल्याबबाट परीक्षण गरे पनि सरकारी निकायले रोग पुष्टि गरेको खण्डमा बीमा कम्पनीबाट दाबी भुक्तानी पाउने समितिले जनाएको छ ।

कोरोना बीमा मापदण्डको परिच्छेद ३ मा प्रष्ट रुपमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिन दिनभित्र दाबीभुक्तानी गर्नुपर्ने भनिएको छ ।

कोरोना बीमाको बीमाङक रकम र बीमा शुल्क एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी दुई प्रकारको बीमाङक कायम गरिएको छ ।

एक लाख बीमाङक कायम भएको बीमालेखका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शुल्क कायम गरिएको समितिले जनाएको छ।

समितिले संगोलमा बसेका परिवारका सम्पूर्ण सदस्यहरुको सामुहिक बीमा गरिएको खण्डमा एक लाख रुपैयाँ बीमाङका लागि प्रति व्यक्ति ६ सय रुपैयाँ र ५० हजार बीमाङकका लागि ३ सय रुपैयाँ कायम गरेको छ।

मापदण्ड बमोजिम सामूहिक कोरोना बीमा गर्दा लाग्ने बीमशुल्कमा नेपाल सरकारले अनुदान उपलब्ध गराउनेछ । तर सरकारी कर्मचारीको सामूहिक कोरोना बिमा गर्दा चाहिँ सरकारले सतप्रतिशत बिमाशुल्क अनुदानको रुपमा उपलब्ध गराउने गर्छ ।

यही बुँदालाई थप प्रष्ट्याउँदै बिमकहरुलाई पत्र पठाइएको बीमा समितिले जनाएको छ ।


बीमालेख खरिद गर्नका लागि आवश्यक न्यूनतम सर्तहरु

– नेपाली लागरिक हुनुपर्ने ।

– कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात ।

– सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको

– स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात

– एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात ।

बीमा लेख खरिद गर्नका लागि बीमित नेपाली नागरिक हुनुपर्ने, कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने न्यूनतम सर्त तोकिएको छ ।

त्यस्तै, कोरोना बीमा दावि भुक्तानीका लागि कोरोना बीमालेख खरिद गरेको १५ दिन पश्चात् र नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सो कार्यका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिन भित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ । यदि दाबी भुक्तानी नहुदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानूनी हकवालालाई भुक्तानी गर्नु पर्नेछ ।

सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्य उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात तथा एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने समितिले जनाएको छ ।

यो पनि पढ्नुसः

कोरोना बीमा दाबी ४ सय नाघ्यो, ३ सय २४ दाबी फछ्यौट हुन बाँकी

कोरोना बीमा गराउनु भयो ? यस्तो छ बीमासम्बन्धी नयाँ मापदण्ड

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here