सार्वजनिक यातायात खुलेको १० दिनमै १ लाख ७४ हजार बढी यात्रु उपत्यका भित्रिए

काठमाडौं, ११ असोज । लामोदूरीका सवारीसाधनको आवतजावत खुल्ला गरेसँगै काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या दिनदिनै बढिरहेको छ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार बाहिरिने भन्दा उपत्यका भित्रिने यात्रुको संख्या धेरै रहेको छ ।

कोरोना संक्रमण सुरु भएपछि गत वर्ष चैत ११ गतेदेखि पटक–पटकको लकडाउन र निषेधाज्ञासँगै अन्तरजिल्ला सार्वजनिक सवारीको यात्रामा प्रतिबन्ध थियो ।

असोज १ गतेदेखि खुल्लागरेसँगै काठमाडौं उपत्यकामा दैनिक २० हजारको हाराहारीमा यात्रुहरु उपत्यका भित्रने गरेका छन् ।

दशैं, तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा उपत्यकाका नाकाबाट बाहिरिने र भित्रिनेको संख्या नजिक-नजिक रहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार एकैदिन बढीमा २३ हजारसम्मले यात्रा गरेका छन् । १० दिनको अवधिमा(असोज १ देखि १० गतेसम्म) ४१ हजार ६१७ सवारी साधनमा १ लाख ७४ हजार ८ सय ४४ यात्रु उपत्यका भित्रिएका छन्।

४१ हजार २ सय ५ सवारी साधनमा १ लाख ६५ हजार २ सय ४६ यात्रु बाहिरिएका छन् । जसमा सबैभन्दा बढी यात्रु असोज ४ गते भित्रिएका छन् । त्यसदिन २३ हजार २ सय ७८ यात्रु भित्रिएका छन् । १८ हजार ९ सय ४१ जना बाहिरिएका छन् ।

उक्त संख्या उपत्यका प्रवेश गर्ने नागढुङ्गा, साँगा, फर्पिङ्ग लगायतको हो ।

सरकारले सार्वजनिक बसमा सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न र तोकिएको भाडा भन्दा ५० प्रतिशत बढी लिन पाउने गरी सार्वजनिक यातायात खुला गरेपछि लामो तथा छोटो दुरीको सवारी साधन सञ्चालन भइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here