काठमाडौं, १९ असोज । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावका विरूद्धमा विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ।
सोमबार बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने भन्दै विरोध जनाएका हुन् ।
संसदमा बोल्दै उनले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भन्दैमा मुख्यमन्त्रीले राजधानी सार्न खोजेको आरोप लगाए ।
कनौडियाले बोलिसकेपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेका छन्।
उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् । कांग्रेसको अवरोधपछि बैठक दुई बजेसम्मलाई स्थगित भएको छ।