प्रदेशसभा बैठकमा तोडफोड गर्नेलाई कारबाही गर्ने कांग्रेसको संकेत

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसले प्रदेश नं ५ को प्रदेश सभामा आज पार्टीका सांसदले देखाएको अराजक गतिविधि पार्टीको नीति विपरित भएको स्पष्ट पारेको छ ।
पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले सोमबार साँझ ट्वीट गर्दै यो घटना पार्टीको नीति विपरित भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ, रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन ।’

प्रदेशको स्थायी राजधानीका विषयमा भएको विवादका बीच आज बसेको प्रदेश सभा बैठकमा कांग्रेस सांसदहरुले प्रदेश सभाका कुर्सी तोडफोड गरेका थिए । पार्टीले भने उनीहरुलाई कारवाही गर्ने संकेत गरेको छ ।

संसदीय ब्यवस्था कम्युनिस्टका लागि बाध्यता र कांग्रेसका लागि रोजाईको पद्धति भएको भन्दै प्रवक्ता शर्माले परिमार्जित र सुसंस्कृत बनाउंदै अघि बढ्ने कर्तव्य समेत कांगेसकै भएको उल्लेख गरे । अरुका गल्तीमा सच्याउंदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको छिटपुट भनेर नछोप्ने र कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्ने समेत उनको भनाई छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि प्रदेश ५ मा कांग्रेस सांसदले हंगामा गरेका थिए । सोमबारको प्रदेश सभा बैठकमा प्रदेश ५ का कांग्रेस प्रदेशसभा सदस्यले कुर्सी तोडफोड गर्दै बुटवलबाट राजधानी सारेको विषयमा आपत्ति जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here