‘कम्युनिष्ट पार्टीका सदस्यलाई अमेरिकामा कुनै प्रतिवन्ध छैन’

काठमाडौं, २० असोज । अमेरिकी सरकारले आफ्नो भिसा सम्बन्धी नीतिमा कुनै परिवर्तन नभएको भन्दै बाहिर आएका समाचारबारे आफ्नो मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीका सदस्यलाई अमेरिका बसाइसराइमा कुनै प्रतिबन्ध नलगाएको र कुनै पनि भिसाको विषय व्यक्तिगत विषय भएको उल्लेख गरेको छ । गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले एक घोषणा सार्वजनिक गरेको थियो ।

त्यसमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख छ । सोही विवरणका आधारमा संचारमाध्यमले समाचार बनाएका थिए । अमेरिकाको यो नीतिको बारेमा नेपालमा समेत समाचार सार्वजनिक भएपछि अमेरिकाले यस नीतिबाट नेपाल कम्युनिष्ट पार्टी र यसका सदस्यलाई कुनै असर नगर्ने स्पष्ट पारेको हो ।

अमेरिकाको प्रतिवन्धको समाचारको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत चर्को आलोचना गरेका थिए । यता, दूतावासले भने भिसासम्बन्धी दशकौं पुरानो नीतिमा कुनै पनि परिवर्तन नभएको स्पष्ट पारेको छ । भिसासम्बन्धी आएका केही समाचार गलत अर्थ लाग्ने भएको भन्दै निश्चिन्त हुन आग्रह गरिएको छ । कम्युनिष्ट पार्टीका सदस्य र निरंकुश सत्ताका सदस्यहरुको अमेरिका भ्रमण र अमेरिकामा बसोबाससम्बन्धी दशकौं पुरानो नीतिमा अहिले पनि परिवर्तन नभएको अमेरिकाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here