यतीको सिमरा उडान शुरु, भाडादर दुई हजार

काठमाडौं, २१ असोज । यती एयरलाइन्सले आजदेखि सिमरा उडान सुरु गरेको छ । यतीले १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा पुनः उडान सुरु गरेको हो । यो यतीको नवौं र प्रदेश २ मा दोस्रो गन्तव्य हो ।

एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सतर्कता अपनाएर आजबाट सिमरा उडान सुरु गरिएको बताए । ९ एन-एआईएच कल साइन भएको जेटईस्ट्रीम-४१ विमानमार्फत बिहान सवा ९ बजे सिमराका लागि पहिलो उडान गरेको र दोस्रो उडान साँझ ४:४५ बजे हुने उनले बताए ।

“सिमरा नियमित रुपले दैनिक दुई उडान हुनेछन् र यात्रुको माग भए उडान संख्या थप गर्न सकिनेछ,” उनले भने, “उच्च सतर्कता अपनाएर उडान सुरु गरेका छौं, यात्रु ढुक्क हुनुभभए हुन्छ ।”

पहिलो दिन काठमाडौं-सिमरा-काठमाडौं उडान गर्ने यात्रुमध्ये गोला प्रथामार्फत एक जनालाई निःशुल्क हवाई टिकट उपलब्ध गराइनेसमेत उनले बताए । यतीले काठमाडौं-सिमरा-काठमाडौंका लागि प्रमोसनल सुरुवाती भाडा दुई हजार तोकेको छ । यी गन्तव्यको टिकटहरु एयरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाइनमार्फत लिन सकिने जनाइएको छ ।

२०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एयरलाइन्समा हाल एटीआर-७२ पाँच, जेटस्ट्रिम-४१ पाँच र भगिनी संस्था तारा एयरका ट्‌विनअटर विमान चार गरी १४ विमान सञ्‍चालनमा छन् । यती एयरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगन्‍ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here