सक्रिय संक्रमित २५ हजार नाघ्यो, फेरि होला त लकडाउन ?

फाइलफोटो

काठमाडौं, २१ असोज । नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

बुधबार एकैदिन हालसम्मकै धेरै ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले यसअघि २५ हजार सक्रिय संक्रमित संख्या नाघेमा लकडाउनमा जाने बताएको थियो । तर बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा‍. जागेश्वर गौतमले यसबारे केहि बोलेनन् ।

संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेडको अभाव हुन थालेको बताउँदै सबैलाई सुरक्षा अपनाउन आग्रह गरे ।

‘संक्रमण वृद्धि भएसँगै अस्पतालमा बेड अभाव हुन थालेको छ। बिरामीहरुलाई पायक पर्ने ठाउँमा बेड उपलब्ध हुन सकेको छैन,’ उनले भने,‘त्यसैले सरकारी र निजी अस्पतालले उपचारको व्यवस्था गर्न आवश्यक छ।’

उनले काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएकाले संक्रमितको व्यवस्थापन गर्न चुनौती देखा परेको बताए। ‘यही अनुपातमा संक्रमण बढ्ने हो भने अस्पतालहरुले भार थेग्न सक्दैनन्,’ उनले भने।

अहिले किनमेल गर्नेको भिड हेर्दा मानिसले कोरोना बिर्सिएको जस्तो लागेको भन्दै गौतमले चाडपर्व खल्लो नबनाउन आफू पनि संक्रमण हुनबाट बच्न र परिवारलाई पनि बचाउन सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरे ।

यस्तै मन्त्रालयले सामान्य ज्वरो तथा रुघाखोकी आउँदा अस्पताल नजान भनेको छ । अस्पतालमा उपचार गर्ने ठाउँ तथा जनशक्तिको अभाव तथा अस्पताल जाँदा भिडभाड भएर त्यहाँबाट कोरोना सर्न सक्ने भन्दै मन्त्रालयले श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा बेहोस हुने सङ्केत देखिएमा र पिसाब नआएमा मात्र अस्पताल जान आग्रह गरेको छ ।

देशभर कोभिड संक्रमितको संख्या केही दिनमा लाख पुग्ने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here