कोरोना नियन्त्रणको अवसरमा कहाँ चुक्यो काठमाडौं महानगर ?

फाइल फोटो

काठमाडौं, २० कात्तिक । नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालभर हालसम्म १ लाख ८२ हजारभन्दा धेरै मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । १ हजारभन्दा धेरैले कोरोनाकै कारण ज्यान गुमाईसकेका छन् ।

देशको राजधानी समेत रहेको काठमाडौं महानगरपालिका कोरोना भाइरस संक्रमणको उच्च चपेटामा छ । सरकारी तथ्यांकहरुलाई नै आधार मान्ने हो भने देशभर देखिएका कोरोना संक्रमितको संख्यामा आधा भन्दा धेरै त काठमाडौं महानगरपालिकामा नै छन् ।

यस्तो कठिन समयमा काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र यसको व्यवस्थापनको लागि कुनैपनि ठोस् कदम चाल्न नसकेको आरोप जनस्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् ।

कोरोना व्यवस्थापनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर

कोरोनाको महामारी स्थानीय सरकारलाई सबल बनाउनका लागि भूकम्पपछि ठूलो अवसर थियो । अझैँ पनि छ । तर, निर्वाचित जनप्रतिनिधि यो अवसरलाई खेर फालिरहेका छन् ।

कोरोना संक्रमण व्यवस्थापनमा केन्द्रीय सरकार फेल उन्मूख भइरहँदा स्थानीय सरकारमा नागरिकको भरोसा केन्द्रीत थियो ।

भूकम्पपछिको व्यवस्थापनमा स्थानीय सरकारले राजनीतिक रूपरङ्गमा राहत दिने र लाभग्राहीको सूची बनाउने काम गर्‍यो अहिले ठ्याक्कै त्यही बिग्रिएको बाटोमा स्थानीय सरकार अघि बढेको छ ।

कोरोना संक्रमण बढ्दै गएपनि यस विषयप्रति महनागरपालिका र यससंग सम्बन्धित निकायहरु निस्कृय रहेको आरोप जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् ।

‘काठमाडौं महानगर निरिह छ । उसको काम बस्ने र हेर्ने मात्रै भईरहेको छ ।’ उनले भने, ‘चाहेँ लकडाउन भएको अवस्थामा होस् या खुलेको अहिलेको अवस्था महानगरपालिकाले कोरोना रोकथाम र यसको व्यवस्थापनमा कुनैपनि ठोस् कार्य गर्न सकेको छैन् ।’

कोरोना संक्रमण दर बढ्दै गएको कारण आइसोलेसन निर्माणलाई विशेष ध्यान दिनुपर्ने डा. पाण्डेको भनाई छ ।

‘हरेक वडामा कम खर्चिलो एउटा/एउटा अक्सिजन राम्रो व्यवस्था भएको आइसोलेन निर्माण गरौं न, यसबाट जनतालाई पनि राहत हुन्छ । कोरोना संक्रमणको डर पनि कम हुन्छ ।’

अहिले ध्यान नदिए स्थिति झनै कहालिलाग्दो हुन्छ

चिसो मौसममा कोरोनाको संक्रमण फैलने मात्रा धेरै हुने भएको कारण अहिले नै यी कुरामा ध्यान दिएर आवश्यक कदम नचाल्ने हो भने अहिलेको भन्दापनि भयावह स्थिति आउने डा. पाण्डेको भनाई छ ।

‘चिसो मौसम सुरु भयो संक्रमितको संख्यामा अब झनै तुलनात्मक रुपमा बढ्न सक्छ ।’ उनले भने, ‘यस विषयलाई ध्यान दिएर महानगरले ध्यान नदिने हो भने अवस्था झनै कहालिलाग्दो हुनसक्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here