मुम्बई आईपीएलको फाइनलमा, दिल्ली ५७ रनले पराजित

काठमाडौं, २१ कात्तिक । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बईले फाइनलमा स्थान बनाएको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०० रन बनाएको थियो। २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले आठ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

तीव्र गतिका बलर जसप्रति बुमराहको चार विकेट तथा सूर्यकुमार यादव र इशान किशनको अर्धशतक प्रेरित मुम्बई इन्डियन्स छैटौंपटक इन्डियन प्रिमियर लिगको फाइनलमा स्थान बनाउन सफल भयो ।

मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ४० रन बनाउँदा यादवले ५१ र किशनले अविजित ५५ रन बनाए। क्रुनाल पाण्डेयले १३ रन बनाए भने हार्दिक पाण्डेय ३७ रनमा अविजित रहे।

दिल्लीका रविचन्द्र आश्विनले तीन विकेट लिँदा एनरिच नोटर्जे र मार्कुस स्टोइनिसले एक/एक विकेट लिए।

दिल्लीका लागि मार्कुस स्टोइनिसले ६५ र अक्सर पटेलले ४२ रन बनाए। कागिसो रबाडा १५ रनमा अविजित हुँदा कप्तान श्रेयस ऐयरले १२ रन जोडे।

हारसँगै दिल्ली फाइनल पुग्ने अवसर कायमै छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।

अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र सनराइजर्स हैदराबाद खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here