कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय, खोप आपूर्ति गर्न समिति गठन

फाइल फोटो

काठमाडौं, २५ कात्तिक । सरकारले कोरोना भाइरस संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो।

यसअघि सर्वोच्चले निःशुल्क परीक्षण र उपचार गर्न आदेश दिए पनि सरकारले सबै नागरिकको निस्शुल्क परीक्षण र उपचार गर्न नसक्ने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो ।

सर्वोच्चले पुनरावलोकन नहुने आदेश सुनाएपछि परीक्षण र उपचार निस्शुल्क गर्न सरकार बाध्य भएको हो ।

गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको थियो। सोही आधारमा सरकारले कात्तिक २ गतेबाट लागू हुने गरी कोरोना संक्रमितले उपचार गर्दा अस्पतालमा शुल्क तिर्नुपर्ने निर्णय गरेको थियो।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस विरुद्धको खोप जतिसक्दो आयातको व्यवस्था गर्न तीन सदस्यीय समितिसमेत बनाउने निर्णय गरेको छ ।

खोप आयातको प्रक्रिया तत्काल सुरु गर्न आवश्यक बजेटलगायत विषयलाई सहजीकरण गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सचिव सम्मिलित समिति गठन गरिएको होे ।

विश्वमा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परीक्षण भइरहेको छ। मानिसमा प्रयोग हुने गरी खोप विकास गरी प्रयोगमा ल्याउन अझै केही समय लाग्न सक्ने विश्व स्वास्थ्य संगठनले बताउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here