नेपाल बैंकले ल्यायो सस्तो विजनेश कर्जा, ब्याजदर ६.९९ प्रतिशत

काठमाडौं १, मंसिर । नेपाल बैंकले ६.९९ प्रतिशत ब्याजदरको विजनेश कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ८४औं वार्षिकोत्सवको अवसरमा आइतबार सो कर्जा योजना सार्वजनिक गरेको हो । यो कर्जा लिनका लागि व्यवसाय सञ्चालन भएको कम्तिमा ६ महिना पुगेको हुनु पर्नेछ । लागतको शतप्रतिशत र स्टक तथा रिसियवलको बढिमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले बताएको छ ।

वार्षिकउत्सवको अवसरमा आइतबार बैंकले एकैपटक २७ वटा शाखा कार्यालय र ७ वटा एक्सटेन्सन काउण्टर उदघाटन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय प्रणालीमार्फत एकैसाथ ती कार्यालय उदघाटन गरेका हुन । आइतबार देखि बैंकको शाखा संख्या २ सय ५ र ३८ वटा एक्सटेन्सन काउण्टर पुगेका छन । शाखा विस्तारपछि ६४ जिल्लामाबाट बैंकको सेवा सञ्जाल ६८ जिल्लामा पुगेको छ ।

आइतबार देखि नै ग्राहकले अनलाइनमार्फत नेपाल बैंकमा निक्षेप खाता खोल्न सक्ने सुविधा पनि बैंकले ल्याएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा पुँजी र रिर्जभ गरी ३० अर्ब ८ करोड रुपैयाँ छ । यस्तै, बैंकको कुल निक्षेप १ खर्ब ४५ अर्ब रुपैयाँ र कुल कर्जा तथा सापटी १ खर्ब १४ अर्ब रुपैयाँ छ । बैंकको पुँजी लागत कोष १७.०३ प्रतिशत छ ।

असोज मसान्तमा बैंकको आधार दर (बेस रेट) ६.८१ प्रतिशत छ । यो २७ वटा वाणिज्य बैंकमध्ये दोस्रो कम आकार दर हो । आधारदर कम हुनुको अर्थ कर्जाको ब्याजदर कम हुनु भन्ने हो । आधार दरको आधारमा कर्जाको ब्याजदर निर्धारण हुने हुने गर्छ ।

यस्तै, गत असोजमा बैंकको कर्जा तथा निक्षेपको ब्याज अन्तर (स्प्रेड) ४.३८ प्रतिशत छ । यो राष्ट्र बैंकले तोकिदिएको निर्धारित सीमा भन्दा कम हो । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले बढिमा साढे चार प्रतिशत स्प्रेड दर कायम गर्नु पर्छ ।

बैंकको कर्जा निक्षेप तथा पुँजी अनुपात (सीसीडी) ६६.५४ प्रतिशत छ । यो पनि नियामक निकायको निर्देशित सीमा भन्दा कम हो । बैंकहरुले ०७८ असारसम्मका लागि बढीमा ८५ प्रतिशत सीसीडी अनुपात कायम गर्नु पर्ने प्रावधान छ ।

हाल बैंकको सीसीडी अधिकतम सीमा भन्दा धेरै कम छ । यसले बैंकको कर्जा प्रवाह क्षमता बढि छ भन्ने देखाउँछ । ८४ वर्ष अघि विस १९९४ मा नेपालको पहिलो बैंकको रुपमा यो बैंकको स्थापना भएको हो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here