ड्राइभिङ लाइसेन्स परीक्षा अझै अनिश्चित, विभाग भन्छः अवस्था सामान्य नभएसम्म सम्भावना छैन्

काठमाडौं, ७ मंसिर । सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन र ट्रायल परीक्षा अझै अनिश्चित भएको छ । यातायात व्यवस्था विभागले छठ लगत्तै लिने भनिएको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चित भएको हो ।

कोरोना संक्रमण बढ्दै गएपछि गत चैत ११ गतेबाट अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि आवेदन र ट्रायल परीक्षा बन्द गरिएको थियो ।

बन्द भएको झण्डै ९ महिना बित्दासम्म पनि लाइसेन्स आवेदन र ट्रायल परीक्षा तत्कालै खुल्ने कुनै सम्भावना नदेखिएको विभागका प्रवक्ता लोकनाथ भुसाल बताउँछन् ।

लाइसेन्सको लिखित तथा ट्रायल सम्बन्धि सम्पूर्ण निर्णय प्रदेश सरकारले गर्ने भएकाले आधिकारिक रुपमा सञ्चालनमा ल्याउने कुनै छलफल नभएको उनले जानकारी दिए ।

भुसालका अनुसार लामो समयसम्म सेवाग्राहीले सेवा नपाएकाले मापदण्ड अपनाएर पनि सञ्चालनमा ल्याउनुपर्ने बताए ।

यसअघि छठपछि लाइसेन्स आवेदन र ट्रायल परीक्षा सञ्चालन गरिने बताईएपनि अवस्था सामान्य नभएसम्म यो कार्य अघि नबढ्ने बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन कुमार कुमार सिंहले बताए ।

अवस्था दिनदिनै जटिल बन्दै छ । यस्तो अवस्थामा हामी कसरी लाइसेन्स आवेदन र ट्रायल परीक्षा खुलाउन सक्छौं ।’ उनले क्लाउड पत्रिकासँग भने, ‘अब अवस्था सामान्य नभएसम्म यो कार्य अघि बढ्ने कुनै सम्भावना छैन् ।’

यस्तो अवस्थामा बाहिर निस्केर लाइसेन्सको लागि आवेदन र ट्रायल परीक्षा दिनुभन्दापनि घरमै सुरक्षित भएर बस्नु आवश्यक रहेको प्रवक्ता सिंहले बताए ।

‘अहिलेको समय बाहिर निस्कने लाइसेन्सको लागि आवेदन दिने, ट्रायल परीक्षा दिने होईन, अहिले त कसरी सुरक्षित बन्ने, घरबाट बाहिर ननिस्कने हो ।’ उनले भने, ‘अवस्था सामान्य भएपछि हामी सूचना प्रकाशन गरेर नै यो कार्य अघि बढाउछौं ।’

यातायातको लिखित तथा ट्रायलमा पनि मानिसको भीड निकै हुने भएकाले बढी जोखिम हुन सक्ने भन्दै हालसम्म उक्त परीक्षाको निर्णय नभएको उनको भनाइ छ । कोरोना महामारीका कारण हालसम्म पनि विद्यालय, सिनेमा हल, बार, क्लबलगायतका कैयन क्षेत्र खुल्न सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here