कोरोनाबाट विदेशमा २९३ जना नेपालीको मृत्यु, ४२ हजार संक्रमणमुक्त

काठमाडौं, ७ मंसिर । विश्वका विभिन्‍न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकामा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २ सय ९३ नेपालीको कोरोना संक्रमणका कारणले निधन भएको छ । कोरोनाका कारण हालसम्म सबैभन्दा बढी साउदी अबरमा ८४ जना, यूकेमा ६९ जना र भारतमा ४० जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघको कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जनाएका छन् ।

भारतमा निधन भएका ४० मध्ये १० जना महिला भएको नयाँदिल्लीस्थित अलइन्डिया इन्स्टिच्युट अफ साइन्समा कार्यरत डा. सागर पौडेलले जानकारी दिएको शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।

संघका अनुसार यो साता स्पेन, यूके, यूएई, कतार, साउदी अरब, र जापानमा थप संक्रमण देखिएको छ । यसका साथै नेपाली समुदायमा संक्रमण देखिएको देशको सूचीमा नर्वे पनि थपिएको छ ।

हालसम्म नेपालमा मात्र २ लाख १८ हजार ६ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये एक लाख ९३ हजार ३ सय २५ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८८ दशमलव ४ प्रतिशत छ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण एक हजार तीन सय पाँचजनाको मृत्यु भएको छ ।

संघअन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्‍न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघ-संस्थालगायतबाट प्राप्त सूचनाका आधारमा विगत ३२ सातादेखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।

तथ्यांक संकलन गर्न डा. कुश श्रेष्ठ (अस्ट्रेलिया), डा. सागर पौडेल (भारत), एलिजा केसी (जापान), सांग्रिलासुन्दरी लामा (स्पेन), संर्घष केसी (नेदरल्यान्ड), चिरन्जीवी खड्का (चेक रिपब्लिका), सागर सुवेदी (अस्ट्रिया), डा. बोध सुवेदी (पोल्यान्ड), सरिता पाण्डे भट्टराई (साउथ अफ्रिका), वसन्त गौतम (फिनल्यान्ड) डा. देवी बस्नेत (कोरिया), डा. नीतेश अर्याल (कतार), सत्य चौधरी (अमेरिका), यासमिन बेगम सैयद (साउदी अरेबिया) , डा. दिलीपकुमार यादव र सुनील साह (यूके) ले एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिलाई सहयोग गर्दै आएका छन् ।

जमघट हुने स्थानमा सावधानी अपनाउन संघको आग्रह

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले विवाह, विभिन्‍न पारिवारिक समारोहलगायत मानिसको जमघट बढी हुने कार्यक्रममा सकेसम्म सावधानी अपनाउन अनुरोध गरेको छ । त्यस्ता समारोहमा कम संख्यामा मात्रै उपस्थित हुने र डेढदेखि दुई मिटरसम्मको भौतिक दूरी कायम गर्न समितिका संयोजक डा. सञ्‍जीव सापकोटाले आग्रह गरेका छन् ।

कोरोना महामारी थप तीव्र रुपमा फैलिँरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको उनको भनाइ छ ।

विश्वका विभिन्न खोप निर्माण कम्पनीले कोरोनाविरुद्धको खोपको परीक्षण ९५ प्रतिशत बढी प्रभावकारी र सफल भएको दाबी गरिरहेको प्रसंग जोड्दै डा. सापकोटाले आशाका नयाँ किरण देखिए पनि अहिले नै ढुक्क हुन सक्ने समय नआएकाले स्वास्थ्य सावधानी नै एकमात्र उपाय भएको बताए ।

जाडो मौसम सुरु भएका विभिन्‍न मुलुकमा इन्फ्लुएन्जा, फ्लु लगायत स्वास्थ समस्यासमेत देखिने भएकोले त्यसतर्फ पनि सचेत रहन डा. सापकोटाले अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here