भारतीय दूतावासले उदयपुरमा बनाईदियो १२ काेठे क्याम्पस भवन

काटमाडौं, ५ जेठ । भारतीय दूतावासको सहयोगमा उदयपुरको चौडण्डीगढीमा निर्मित क्याम्पस भवनको उद्घाटन गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच उदयपुरका सांसद तथा पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्काले श्री नारद आदर्श शिक्षा क्याम्पस भवनको उद्घाटन गरे ।

चौदण्डीगढी नगरपालिका स्थित क्याम्पस भवनको उद्घाटन समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार समेत उपस्थित थिए ।

सन् १९७१ मा स्थापना भएको विद्यालय सन् २००३ मा शिक्षा क्याम्पसको रुपमा स्तरोन्नती गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त सो क्याम्पसमा १३५ विद्यार्थी अध्ययनरत छन् जसमध्ये ७० प्रतिशत छात्रा रहेका छन् । क्याम्पसले शिक्षा संकायको चार वर्षे बिएड कार्यक्रम प्रदान गर्दै आएको छ ।

भारत सरकारको ३ करोड २ लाख रुपैयाँ अनुदान सहयोगमा निर्मित दुई तल्ले क्याम्पस भवनमा १२ वटा कक्षा कोठा, पुस्तकालय, सभा कक्ष, छात्र तथा छात्राका लागि छुट्टा–छुट्टै शौचालय र फर्निचरको व्यवस्था रहेको छ ।

नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने विश्वास लिइएको छ । उदयपुरका साथै यससँग जोडिएका भोजपुर, खोटाङ, सुनसरी, सप्तरी लगायतका जिल्लाका ग्रामिण भेगका विद्यार्थीको शिक्षामा पहुँच समेत बढाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here