माघसम्ममा देशभर फोरजी, ७६ प्रतिशत काम सकियो

काठमाडौं, ६ जेठ । नेपाल टेलिकमले फोरजी/एलटीइ सेवा विस्तार तिव्र रुपमा अघि बढाएको छ ।

हालसम्म फोरजी विस्तार सम्बन्धी ७६ प्रतिशत काम सम्पन्न भएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । उनका अनुसार हाल कोर नेटवर्क विस्तारको काम सकिएर मेट्रो डेलिभरीको क्रममा छ ।

२०७५ माघ २० को सम्झौता अनुसार कम्पनीले १ वर्षभित्रमा देशभर फोरजी सेवा विस्तार गरिसक्नुपर्ने छ ।

‘हाम्रो लक्ष्य अनुसार नै कामहरु भईरहेको छ, उनले भनिन्, अबको केहि समयमा हामी देशभर फोर जी सेवा सञ्चालन गरिसकेका हुन्छौं ।’

टेलिकमले फोरजी सेवा तिन भागमा बाँडेर विस्तार गरिरहेको छ ।

टेलिकमले काठमाडौं र बुटवलमा ‘कोर नेटर्वक’ निर्माणको लागि चीनको जेटिई कर्पोरेशनसँग १ अर्ब ६५ करोड रुपैयाँको सम्झौता गरेको हो ।

प्रदेश नम्बर १, २, ४, ५ र ७ का विभिन्न भाग नेटवर्क ‘आईआई’ विस्तारको लागि हङकङको सीसीएसआईसँग ८ अर्ब ३९ करोड रुपैयाँमा सम्झौंता गरेको थियो । त्यस्तै प्रदेश नम्बर २, ३, ५ र ६ का विभिन्न भाग समेट्ने ‘नेटवर्क आई’ निर्माणको लागि पनि सीसीएसआई सँग ८ अर्ब ७५ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

टेलिकमले टेलिकमले नेपालभर ६५ लाख क्षमताका फोरजी सेवा विस्तारको लागि करिब १९ अर्ब रकम विनियोजन गरि एक वर्षभित्र आयोजनाको पूर्वाधार निर्माण गरिसक्ने सम्झौता गरेको थियो ।

देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलेको रुपमा सञ्चालन गर्ने प्रवक्ता बैद्यले जानकारी दिइन् ।

उनका अनुसार फोरजी सेवा सञ्चालन भएपश्चात ग्राहकले आ(आफ्नो रुचि तथा आवश्यकता अनुसार जुनसुकै सेवा प्रयाग गर्न सक्नेछन् ।

फोरजीबाट मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार गर्न सकिने छ । साथै कभरेज र क्यापिसिटीका लागि स्मार्ट सेल विथ वाइफाइ विस्तार गर्न मिल्ने छ ।

टेलिकमको नाफा प्रतिशतमा कमि आएको अवस्थामा फोरजी नेटर्वकबाट नाफा प्रतिशत बढाउने योजना रहेको बैद्यले बताइन् । ‘फोरजी नेटवर्क धेरै तिव्र रहेकोले धेरै मात्रामा डाटा प्रयोग हुने हुँदा नाफा प्रतिशत कन्ट्रोलमा आउँछ,’ उनले भनिन् ।

नर्वेको टेलियासोनेरा नाम गरेको कम्पनीले विश्वमै सबैभन्दा पहिले सन् २००९ मा फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । पछि सन् २०१४ मा उक्त कम्पनीले यो सेवा अन्य १० देशहरुमा विस्तार गरेको थियो ।

नेपालमा भने सबैभन्दा पहिले सन् २०१७ मा नेपाल टेलिकमले काठमाडौंमा फोरजी सेवा सुरु गरेको हो ।

अहिले नेपाल टेलिकमले काठमाडौं र पोखरामा मात्रै फोरजी सेवा प्रदान गरीरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here