आन्तरिक राजश्व कार्यालयले झुटो विज्ञप्ती निकालेको सुमार्गीको दावी

काठमाडौं, ७ जेठ । आन्तरिक राजश्व कार्यालयले झुटो र गलत तथ्य राखेर विज्ञप्ती प्रकाशन गरि अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्न खाेजेकाे आरोप नेपाल स्याटेलाईट टेलिकमले लगाएको छ ।

कम्पनीका संचालक अजेयराज सुमार्गीले मंगलबार आन्तरिक राजश्व कार्यालयले अदालतमा विचाराधिन मुद्दा प्रभावित गर्ने उद्देश्यले झुटो विज्ञप्ती निकालेको भन्दै आपत्ति जनाएका हुन् ।

साथै सुमार्गीले राजश्व कार्यालयले आयकर ऐनको दफा ८४ उल्लंघन गरेको भन्दै कानूनी उपचारको बाटो खोज्ने बताएका छन् ।

‘आयकर ऐनको दफा ८४ अनुसार कुनै पनि कर्मचारीले आफ्नो कर्तव्य पालनाको शिलसिलामा आफ्नो कब्जामा वा जानकारीमा आउने सबै कागजात तथा सुचना गोप्य राख्नुपर्ने व्यवस्था छ, ऐन विपरित करदाताको विवरण सार्वजनिक गर्नाले कसुर हुन गएको देखिएको छ,’ सुमार्गीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘त्यस्तो कसुरमा ऐनको दफा १२६ द्धारा व्यवस्थित ८० हजार रुपैयाँ जरिवाना र १ बर्षको कैदको मागदावी लिइ कानुनी प्रक्रिया अबलम्बन गर्न यस कम्पनी बाध्य हुनेछ ।’

आन्तरिक राजस्व कार्यालय बानेश्वरले नेपाल स्याटेलाइटको स्वामित्व बिक्रि हुँदाको पुँजीगत लाभ कर ४ अर्ब ३१ करोड रुपैयाँ तिर्न बाँकी भएको भन्दै यही जेठ ३ गते पत्राचार गरेको थियो ।

कम्पनीले पत्र बुझ्न नमानेको भन्दै सोमबार कार्यालयले विज्ञप्ती प्रकाशन गरेको थियो । यता सुमार्गीले भने कर कार्यालयबाट अहिलेसम्म कुनै पनि व्यक्ति पत्र लिएर नआएको र कार्यालयले निकालेको विज्ञप्तिमा हस्ताक्षर नभएको भन्दै त्यसको आधिकारिकतामा समेत प्रश्न उठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here