‘प्रधानमन्त्री ओलीले संविधानमै नभएको कदम चालेर संवैधानिक कू गरे’- संविधानविद

काठमाडौं, ५ पुस। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंवैधानिक भएको संविधानविदले बताएका छन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए । हाम्रो संविधानमा संसद विघटनको प्रावधान छैन’ थापाले भने ।

अर्का संबिधानविद डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न नसक्ने बताए । उनले बहुमत सिद्ध भएको प्रधानमन्त्रीले संसद् विघटन गर्नै नसक्ने दाबी गरे ।

नेपाल वार एसोसियनका पूर्व अध्यक्ष शेरबहादुर केसीले प्रधानमन्त्री ओलीले संविधान मै नभएको कदम चालेर संवैधानिक कू गरेको बताएका हुन् ।

संविधानविद विपिन अधिकारीले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर उदण्डता देखाएको बताएका छन् । उनले संसद विघटन गर्ने कुनै अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको पनि उल्लेख गरेका छन् ।

‘यदि प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिन सक्दिनँ भन्ने लाग्दछ वा अविश्वासको प्रस्तावलाई फेस गर्न नसक्ने लाग्दछ भने उहाँले राजीनामा गर्न सक्नुहुन्छ । तर, प्रतिनिधिसभा भंग गर्ने उहाँको अधिकार छैन,’ उनले भने ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसद विघटन गर्ने ओलीको निर्णयलाई संविधानको हत्याको संज्ञा दिएका हुन् । ‘जबसम्म संसदबाट सरकार बन्नसक्छ तबसम्म संविधानमा संसद विघटनको कुनै प्रावधान छैन’ वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘यसरी संसद विघटन गर्नु भनेको संविधानको हत्या हो, प्रधानमन्त्रीले ‘कू’ गरेका हुन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here