चक्रपथ निर्माण नभएको कारण मोनोरेल ल्याउन ढिलो भयोः मेयर शाक्य

काठमाडौं । उपत्यकाको चक्रपथ निर्माण नभएको कारण मोनोरेल ल्याउने योजना ढिलो भएको काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् ।

तीनकुनेमा वडा नम्बर ३१ को कार्यालयको भवन शिलान्यास गर्दै मेयर शाक्यले चक्रपथ निर्माण नभएको कारण मोनोरेल ल्याउन ढिला भएको बताएका हुन् ।

‘म निर्वाचित भएर आएपछि केही काम गर्न सकिन् त्यो मध्ये एक हो, मोनोरेल । चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ । चक्रपथ विस्तार भइ नसकेकाले त्यो काम गर्न सकेनौँ ।’ उनले भने, ‘धरहरा बनाउने भनेका थियौँ । धरहरा निर्माण सम्पन्नको चरणमा छ । दरबार हाइस्कुल सम्पन्न भयो । रानीपोखरीको काम पहिलो चरणको सम्पन्न भयो । काष्ठमण्डप निर्माण सम्पन्नको चरणमा छ ।’

चुनाव अघिको काठमाडौंको बाटो र अहिलेको बाटोमा धेरै फरक भइसकेको भन्दै अधिकांश ठाउँमा, ढलान गर्ने, ढुंगा छाप्ने काम सम्पन्न भएको उनको भनाइ छ ।

धुलो, हिलो धेरै हदसम्म नियन्त्रण भएको भए पनि अहिले मेलम्ची खानेपानीका कारण केही समस्या भएको उनको तर्क छ ।

‘सरोकारवाला निकायको सम्वन्वयको अभावले पनि केही समस्या भएको छ । यद्यपि हामी वचनमा प्रतिवद्ध छौँ । हामी अरुले नगरेका काम पनि हाम्रो खर्चमा गरेर महानगरवासीका गुनासा समाधान गर्ने प्रयासमा लाग्नेछौँ ।’ मेयर शाक्यले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here