‘प्रचण्ड-नेपाल समूहको सानो झिल्का विलाएर जान्छ, सरकारमा आउने हामी नै हौं’ -लेखराज भट्ट

काठमाडौं, १५ पुस । उद्योगमन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहलाई सानो झिल्को भएको बताएका छन् ।

केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा मन्त्री भट्टले यस्तो बताएका हुन् । मन्त्री भट्टले प्रचण्डसँग आफ्नो ४० वर्षको सहयात्रा रहेको बताउँदै प्रचण्ड पनि ओली समूहमा आउने दाबी गरेका छन् । उनले महाधिवेशनसम्म प्रचण्डले धैर्यता गर्न नसकेर नेकपा फुटेको आरोप लगाएका छन् । उनले व्यक्तिको महत्वकाङ्क्षा पूरा नभएपछि पार्टी विभाजन भएको बताएका हुन् ।

‘विभाजन भनेको सत्रुतापूर्ण नै हो । किनभने अहिले हामीबीच विचारमा मतभेद छैन् । सैद्धान्तिक, वैचारिक राजनीतिक रुपमा के हो भन्ने छैन् । अहिलेको विभाजन भनेको व्यक्तिको महत्वकाङ्क्षा पूरा नभएपछि विभाजन हो । कसैलाई प्रधानममन्त्री र कसैलाई अध्यक्ष चाहिएको छ ।

पार्टीको कार्यकारी अध्यक्षले आफ्नो जिम्मा पूरा गरेर महाधिवेशनसम्म जाने धैर्यता उहाँ भएन’, उनले भने, ‘त्यसकारण उहाँहरुको अधैर्यता, महत्वकांक्षा सबै बुझिन्छ । बिस्तारै सबैले बुझ्दै जान्छन् र फेरी उहाँहरु यही ठाउँमा आउनुहुन्छ । प्रचण्डसँग मैले ४० वर्ष सहकार्य गरेको छु ।

हामी गएपछि साथीहरु आइहाल्छन् यसमा शंकै छन् । बहुमत प्राप्त प्रधानमन्त्रीले सर्वस्वीकृतपार्टीको नेता त्यो नेतालाई काम गर्न नदिएपछि संविधानमा टेकेर नयाँ जनादेशमा जान्छु भन्नु त्यो कलंक कसरी हुन्छ ? जनादेशमा जान उहाँहरु(प्रचण्ड–नेपाल) किन आत्तिएको ?’

मन्त्री भट्टले कसैले चाहेर पार्टी विभाजन नभएको र गत बैशाखको निर्वाचन आफूहरुले नै जित्ने दाबी गरेका छन् ।

‘पार्टीभित्रको अन्तरद्वन्द्वले यो स्थितिमा पुर्यायो । कसैले पनि चाहेको कुरा होइन । प्रधानमन्त्रीले चाहेर भएको होइन् । परिस्थिति सिर्जना गरेपछि यसलाई रोक्ने को हो त ? संसद विघटन गरेर जनादेशमा जानु नै सही कदम हो ।

अब निर्वाचन हुन्छ । हामी जनताबाट जितेर आउँछौं । निर्वाचन हुन्छ भन्ने विश्वस्त छु । अदालतले सरकारको कदमलाई सही हो भन्छ’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here