‘हामी यहाँ छौँ भनेर टाँस्नै पर्दैन, वैधानिक नै हामी हौं’

काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपामा वैधानिकताको प्रश्न नै नरहेको बताएका छन् ।

शुक्रबार ३६ देशका प्रवासी नेपाली एकतामञ्चलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा फुटेको नभइ केही नेताहरु अलग्गिएर छुट्टै सरकार बनाउने खेलमा लागेकोले वैधानिकताको प्रश्न नै नरहेको बताएका हुन् ।

उनले आफ्नो पार्टी बैधानिकताका लागि निर्वाचन आयोग नगएको र नजाने समेत बताएका छन् । ‘हामी बैधानिकतको प्रमाणपत्रका लागि निर्वाचन आयोग गएका छैनौं ।

हामी बैधानिक नै छौ भने किन दरखास्त हाल्न जान्छौ ?’, ओलीले प्रश्न गर्दै भने, ‘हामी किन जान्छौ ? अदालत, निर्वाचन आयोग ? ’

साथै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल समूहले पार्टी कार्यालय कब्जा गर्ने तथा पार्टीको खाताबाट पैसा गायव पारेको समेत बताएका छन् । कार्यकर्ताले दुख गरेर जम्मा गरेको पैसा पार्टीको खाताबाट गायव पारेको भन्दै प्रधानमन्त्रीले भने, ‘कार्यालय कसको पछि थाहा हुन्छ । कार्यकर्ता किन भिडाउनु ?’ उनले प्रचण्ड-माधव समूह देशभर कार्यकर्तालाई पार्टीको सम्पत्तिको नाममा भिडाउन तल्लिन रहेको बताए ।

पार्टी विवादको टुंगो नलाग्दै रकम निकासा नगर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बैंकलाई खाता रोक्का गर्न पत्र लेखेका थिए ।

त्यसैगरी प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीविरूद्ध गत ५ गते दिउँसो ३ बजे दर्ता भएको अविश्वासको प्रस्तावलाई सभामुखले नै १०ः५५ मा दर्ता गरेको बनाई कीर्ते गरेको पनि आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here