कसरी आयो स्पेनिस महारथी बार्सिलोनामा आर्थिक संकट ?

काठमाडौं । स्पेनिस फुटबलको महारथी बार्सिलोना क्लबको आर्थिक अवस्था गम्भीर र निकै नाजुक बन्दै गएको छ ।

सिजनको सुरुवात देखि नै राम्रो प्रर्दशन गर्न नसकेको बार्सिलोनाले क्लबको अर्थिक खाडल पुर्नको लागि तिन प्रमुख खेलाडी लुइस सुवारेज, अर्टुरो भिडाल र इभान राकिटिचलाई बेच्यो तरपनि आर्थिक खाडल भने पुर्न सकेन् ।

क्लबको कुल आम्दानीको ६७ प्रतिशत अर्थात ७ सय मिलियन डलर खेलाडीहरुको तलब र अन्य आर्थिक मामिलामा खर्च गर्दै आएको बार्सिलोनाको लागि कोरोना संक्रमणले थप आर्थिक संकट पैदा गरिदियो ।

गत मार्च महिनामा कोरोनाकोे कारण फुटबल रोकियो । केही समयपछि फुटबल त फर्कियो तर, समर्थकहरु भने मैदान फर्कन पाएनन् । जसको कारण टिकट बेचेर हुने बार्सिलोनाको आम्दानी शुन्यमा झर्यो ।

त्यस्तै बार्सिलोनाको अर्को आम्दानीको श्रोत भनेको बार्सिलोना घुम्न आउने पर्यटक हुन् । तर, यो कार्यपनि कोरोना संक्रमणले शुन्यमा पुर्यायो । बार्सिलोनाले यसबाट मात्रै कर कटौतीपछि ११३ मिलियन डलर गुमाउदै आएको छ ।

खेलाडीको तलब ३० प्रतिशत कटौती

कोरोनाको कारण आम्दानी घट्दै गएपछि क्लबको आम्दानी निकै घट्यो र यसको कारण क्लबले आफ्ना खेलाडीको तबल ३० प्रतिशत कटौती गर्ने भन्यो र यसमा खेलाडीहरु पनि सहमत भए ।

बार्सिलोनाको जारी सिजनको बजेट ८ सय ५२ मिलियन डलर रहेको छ । बार्सिलोनाले आफ्नो आर्थिक अवस्था सुधार्नका लागि तत्काल आम्दानीको अर्को स्रोत जुटाउनु पर्ने हुन्छ । यदि यसमा पनि उ असफल भए खेलाडी, पदाधिकारी तथा अन्य रकम ढिलो गरेर मात्रै दिन सक्नेछ ।

कमजोर व्यबस्थापनले डुब्यो बार्सिलोना

बार्सिलोना यो अवस्थामा आइपुग्नुको कारण भने कोरोना मात्रै पनि होइन् । क्लबको कमजोर आर्थिक व्यवस्थापन पनि यसको मूख्य कारण हो । बार्सिलोना अहिले ५ सय ६७ मिलियन डलर ऋणमा डुबेको छ ।

यो समस्या बार्सिलोनामा पछिल्लो केही समयबाट देखा पर्दै आएको छ । तर, कोरोना संक्रमणको कारण सबै कमाइ बन्द भएपछि यसले ठुलो रुप लिएको हो । खेलाडीहरुको ट्रान्सफरमा ध्यान नदिदाँ बार्सिलोनाको यो अवस्था आएको हो । बार्सिलोनाको कुल ऋण मध्ये ३ सय २ मिलियन डलर ट्रान्सफरबाट लागेको हो ।

यो समस्याबाट मुक्त हुनको लागि क्लबले आफ्ना भरपर्दा खेलाडी सुवारेज, भिडाल र राकिटिच बेचेर पनि यो संकट टार्न सकेको छैन ।

बार्सिलोनाले पुरानो ट्रान्सफरकै ९३ मिलियन डलर तिर्न बाँकी छ । बार्सिलोनाले अझै पनि लिभरपुल, आयाक्स र भ्यालेन्सियालाई पुरानो बक्यौता तिर्न बाँकी छ । क्लबले सन् २०१९ को अन्त्य सम्ममा यो सबै रकम तिर्ने प्रतिबद्धता जनाए पनि २०२० सकिंदा सम्म पनि तिर्न सकेको छैन ।

मेस्सीको तलब र सुबिधाले क्लबलाई थप आर्थिक भार

बार्सिलोनाका कप्तान मेस्सीको कारण पनि क्लबले थप आर्थिक भार खेप्नु परेको स्पेनिस मिडियाहरुले बताउदै आएका छन् । त्यसो त, मेस्सी बिनाको बार्सिलोनाको अवस्था के हुन्छ भन्ने कुराको आकलन पनि क्लबले गरिसकेको छ ।

बार्सिलोना आफ्नो खराब आर्थिक अवस्थाबाट राहत पाउने आशामा यसै सिजनको सुरुवातमा मेस्सीलाई कुनै क्लबले भित्र्याउन चाहेको खण्डमा ७ सय मिलियन डलर खर्च गर्न पर्ने सर्त समेत राखेको छ ।

बार्सिलोनाले जुलाई २०२० मा अमेरिकाको एउटा बैंकबाट तीन देखि चार प्रतिशत ब्याजमा ९ सय ३० मिलियन ऋण लियो । थप सेवा सुविधा सहितको क्याम्प नाउ स्थापना गर्नको लागि लिइएको उक्त ऋण कोरोना संक्रमणको कारण सबै आर्थिक क्षेत्र बन्द भएपछि यो सबै रकम खेलाडीहरुको तलब र सेवा सुविधामा नै खर्च भयो ।

पछिल्लो समय अमेरिकाबाट लिएको उक्त ऋण बार्सिलोनाको लागि निकै महङ्गो सावित भएको छ । यस ऋणको सबैभन्दा खराब अवस्था के छ भने बार्सिलोनाले उक्त रकम तिर्न नसकेको खण्डमा बैंकलाई क्लब नै हडप्ने अधिकार समेत छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here