सहकारी सबै समस्या एउटै टेबलबाट समाधान हुन्छ: अर्थमन्त्री

काठमाडौं, २७ पुस । अर्थमन्त्री विष्णु पौडेलले सहकारी अभियानमा देखिएका सबै समस्या एउटै राउन्ड टेबलमा बसेर हल गर्न आफूले चाहेको बताएका छन् ।

समाजवाद निर्माणको जगका रुपमा र अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफूले गर्नुपर्ने काममा सतप्रतिशत लाग्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।

‘सरकारले गर्नु पर्ने कामका बारेमा एउटै टबेलमा सबै बसेर समाधानको मार्ग पहिल्याउन सकिने छ । त्यसका लागि यहाँहरु तयार हुनु होला । अब गुनासो गर्ने होइन अग्रगामी रुपमा अगाडी बढ्ने हो,’ राष्ट्रिय सहकारी महासंघको सोमबार भएको २८ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने ।

मन्त्री पौडलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर सबैसहित सहकारी अभियान्ताहरुको राउन्ड टेबल कार्यक्रम गरेर यसलाई अगाडि बढ्न बाधा परेका सबै समस्यालाई एकै ठाउँबाट समाधान गर्न सरकार तयार रहेको बताए ।

‘गुनासोले मात्र गन्तव्यमा पुगिदैन । सरकारले के गर्नुपर्ने अभियानबाट योजना बनाउनुस् र त्यसको समाधान गरेर अगाडी बढौं,’ उनले भने ।

भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट सञ्चालन भैरहेको महासंघको साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले महासंघले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधान उपायका विषयमा समेत सुझाव दिनु पर्ने धारणा राखिन् ।

यस क्षेत्रमा देखिएका विकृतिहरु हटाउन समेत ठोस कार्यक्रम अघि बढाउन आफू अभियानसँग सहकार्य गर्न तयार रहेको उनले बताइन् ।

सहकारीमैत्री नरहेका कानुनहरु संशोधनका संसदीय निर्वाचनपछि नयाँ संसदले गर्ने पनि उनले बताइन् ।
सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले लेख्नुभएको १६ औं पुस्तक समाजवाद र महासंघले प्रकाशन गरेको सहकारीका सिद्धान्तहरुको मार्गदर्शन विमोचन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here