रेमिट्यान्स १०.९ प्रतिशतले बढ्यो, ५ महिनामा ४ खर्ब १६ अर्ब भित्रियो

remit

काठमाडौं, २९ पुस । विप्रषण आप्रवाह (रेमिट्यान्स) १०.९ प्रतिशतले बढेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडका कारण विश्वअर्थतन्त्र शिथिल भइरहेको र रोजगारीका अवसरहरु समेत गुमेको अवस्थामा पनि नेपालमा रेमिट्यान्स आप्रवहमा निरन्तर सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/ ७८ को पाँच महिनाको तथ्यांक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई रु.४१६ अर्ब ८१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई रु.४५९ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here