माघे संक्रान्तिमा कुन तरुल खाने ? यस्तो छ बजार मूल्य

काठमाडौं, २९ माघ । उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किन्ने र बेच्नेहरूको घुइँचो लागेको छ ।

माघेसंक्रान्तिको पूर्वसन्ध्यामा तरुल किन्ने र बेच्नेहरूको व्यापक चहलपहलका कारण राजधानीको अधिकांस बजार ‘तरुलमय’ भएको छ ।

देशका विभिन्न जिल्लाबाट माघे संक्रान्ति विशेष तरुलहरु कालीमाटी तरकारी बजार भित्रिसकेका छन् । कालीमाटी तरकारी बजारको तथ्यांक अनुसार अहिलेसम्म लगभग १ हजार टन तरुल आईसकेको छ । देशका विभिन्न २० जिल्लाबाट आएका तरुलको मूल्य त्यसको प्रकारका आधारमा फरकफरक छ ।

यस पटक कालीमाटीमा विभिन्न ७ प्रकारका तरुलहरु आएका छन् । र, त्यसको मूल्य पनि फरक फरक छ ।

यस्तो छ प्रकार र मूल्यः

आकाशे रातो तरुल

सर्लाही जिल्लाबाट यस पटकको माघे संक्रान्तिलाई लक्षित गरेर साढे १८ टन आकाशे रातो तरुल आएका छन् । जसको मूल्य कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले प्रतिकेजी ५० देखि ६० रुपैयाँ तोकको छ ।

मुडे घर तरुल

माघे संक्रान्ति लक्षित गरेर यस पटक ११ टन मुडे घर लरुल काठमाडौं आएको छ । नवलपरासीबाट आएको यो तरुलको मूल्य प्रतिकेजी ७० देखि ७५ रुपैयाँसम्म तोकिएको छ ।

हात्ती पाइले तरुल

यस पटकको माघे संक्रिन्तिमा धरान, सुनसरी र नवलपरासीबाट हात्ती पाइले तरुल कालीमाटी आएको छ । धरान र सुनसरीबाट ४१ टन हात्ती पाइले तरुल आएको छ भने नवलपरासीबाट १० टन हात्ती पाइले तरुल कालीमाटी भित्रिएको छ ।

धरान र सुनसरीबाट आएको हात्ती पाइले तरुलको मूल्य प्रतिकेजी ५५ देखि ६५ रुपैयाँ रहेको छ भने नवलपरासीबाट आएको हात्ती पाइले तरुलको मूल्य प्रतिकेजी ९५ देखि १०० तोकिएको छ ।

सिमल तरुल

गोरखाबाट अहिलेसम्म साढे १३ टन सिमल तरुल कालीमाटी तरकारी बजारमा भित्रिएको छ । गोरखाबाट आएको सिमल तरुलको मूल्य प्रतिकेजी ३५ देखि ४० रुपैयाँ तोकिएको छ ।

पाताले रातो घर तरुल

यस पटकको माघे संक्रान्ति लक्षित गरेर सर्लाही र चितवनबाट पाताले रातो घर तरुल कालीमाटी भित्रिएका छन् । कालीमाटी तरकारी बजारको तथ्यांक अनुसार अहिलेसम्म सर्लाहीबाट ६ टन पाताले रातो घर तरुल आएको छ भने चितवनबाट साढे २ टन आएको छ ।

यी दुई स्थानबाट आएका रातो घर तरुलको मूल्यपनि फरक फरक छ । सर्लाहीबाट आएको रातो घर तरुल तरुलको मूल्य प्रतिकेजी ७० देखि ७५ रुपैयाँ तोकिएको छ भने चितवनबाट आएको रातो घर तरुलको मूल्य प्रतिकेजी १२० देखि १३० रुपैयाँ तोकिएको छ ।

सेतो पानी तरुल

माघे संक्रान्ति लक्षित गरेर यस वर्ष धादिङबाट ५०० केजी सेतो पानी तरुल कालीमाटी भित्रिएको छ । कालीमाटी तरकारी बजारको मूल्यसूची अनुसार धादिङबाट आएको सेतो पानी तरुलको मूल्य प्रतिकेजी ४० देखि ५० रुपैयाँ तोकिएको छ ।

रातो घर तरुल

धादिङबाट यस पटकको माघे संक्रान्ति लक्षित गेरेर ३०० केजी रातो घर तरुल काठमाडौं भित्रिएको छ । कालीमाटी तरकारी बजारको मूल्यसूची अनुसार धादिङबाट आएको रातो घर तरुलको मूल्य प्रतिकेजी ६० देखि ६५ रुपैयाँ तोकिएको छ ।

वन तरुल

यस पटकको माघे संक्रान्तिमा नवलपरासीबाट मात्रै जम्मा ५० केजी वन तरुल कालीमाटी तरकारी बजार भित्रिएको छ । जसको मूल्य प्रतिकेजी ११५ देखि १२० रुपैयाँसम्म तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here