चार पालिका अझै बैंकविहीन, शाखा संख्या १००८६ पुग्यो

काठमाडौं, १ माघ । मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७४९ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको प्रतिवेदन अनुसार २०७७ मंसिर सम्ममा नेपालका ४ स्थानीय तह मात्रै वाणिज्य बैंकविहीन छन् । २०७६ मंसिरसम्म ७४३ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए ।

राष्ट्र बैंकका अनुसार प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनीको सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ। प्रदेश १ का एक सय ३७ पालिकामध्ये ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा शाखा पुगेको छैन ।

वाग्मती प्रदेशको धादिङको रुवी भ्याली गाउँपालिकामा शाखा पुगेको छैन । कर्णालीमा जाजरकोटको जुनीचाँदै गाउँपालिका र सुदूरपश्चिममा बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।

यसका साथै बैंक तथा वित्तीय संस्थाको संख्या मंसिर मसान्तमा १ सय ४४ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ मंसिरमसान्तमा १००८६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here