नेपालमा नयाँ प्रजातिको कोरोना भित्रिएको पुष्टि, तीन जनामा देखियो संक्रमण

काठमाडौं, ५ माघ । बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना नेपालमा पनि भेटिएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रजातिको भएको पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन।

बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको भाइरस पहिलाको भन्दा बढी संक्रामक रहेको वैज्ञानिकहरूले बताएका छन्।

केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here