तपाईले प्रयोग गरेको सिमकार्ड अर्काको नाममा छ, नामसारी गर्न के गर्ने ?

काठमाडौं । नेपाल टेलिकमले अन्यको नाममा दर्ता भएका सिम कार्डलाई आफ्नो नाममा दर्ता गर्न सूचना जारी गरेको छ । टेलिकमले आफ्ना प्रयोगकर्तालाई आफ्नो विवरण अपडेट गर्न, नाम सच्याउन तथा सिम कार्ड आफ्नो नाममा बनाउन आग्रह गरेको हो ।

नागरिक एपमा उपलब्ध हुने विवरणमा सिम प्रयोगकर्ता ग्राहक विवरण गलत आउन थालेकोले सिम कार्ड आफ्नो नाममा बनाउन सुझाएको हो ।

दूरसञ्चार कार्यालयबाट ग्राहकको विवरण अद्यावधिक(नामसारी) गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भइरहेको टेलिकमले जनाएको छ ।

हालै सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्ने प्रावधान राखिएको छ । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भए पनि केही ग्राहकहरुले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेको टेलिकमले जनाएको छ ।

टेलिकमले ग्राहकलाई *922# डायल गरेर आफूले प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा छ/छैन र नामको हिज्जे सही छ(छैन निर्क्यौल गर्न सकिने जनाएको हो ।

प्रिपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक गर्न के गर्ने ?

अरुको नाममा रहेको प्रिपेड सिमकार्ड लामो समयदेखि आफैंले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा उपस्थित भई कबुलियतनामाको फाराम भरी अद्यावधिक गर्न सकिन्छ । साथै, विगत ६ महिनाभित्र उक्त सिमकार्डबाट भएका केही कलहरु सोही समयमा भेरिफाई गर्नुपर्दछ ।

पोस्टपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक तथा नामसारी गर्न के गर्ने ?

पोस्टपेड सिमकार्ड नामसारीका लागि हाल सिमकार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ ।

अभिलेखमा सिमकार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा उक्त व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ । साथै, सिमकार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, सोको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजातहरु लिई दूरसञ्चार कार्यालयमा उपस्थित भई नियमानुसार नामसारी गर्न सकिन्छ ।

नागरिक एपबाट सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता प्रमाणपत्र, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्दछ।

विभिन्न सेवाहरूलाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने नेपाल सरकारको लक्ष्यलाई सहयोग गर्नु कम्पनीको कर्तव्य भएको हुनाले कम्पनीका ग्राहकवर्गको विवरण सच्याउन, अद्यावधिक वा नामसारी गर्न तथा सो सम्बन्धमा थप सहजता प्रदान गर्न कम्पनीले अन्य आवश्यक कार्यहरु अगाडि बढाइरहेको परिप्रेक्ष्यमा आगामी दिनमा कम्पनीले थप जानकारीहरु उपलब्ध गराउने छ।

दूरसञ्चार कार्यालयहरुबाट ग्राहकको विवरण अद्यावधिक/नामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भइरहेको हुनाले आगामी सातादेखि थप प्रभावकारी रुपमा सो सेवा ग्राहकहरुलाई उपलब्ध हुने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here