२०७७ असार मसान्त भित्र १२६४ मेगावाट बिजुली थपिने

काठमाडौं, १४ जेठ । वि.सं. २०७७ असार मसान्तसम्ममा १,२६४ मेगावाट क्षमताको जलविद्युत आयोजनाहरु सम्पन्न हुने सरकारले बताएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दैे २०७७ असार मसान्तसम्म ती आयोजना निर्माण सम्पन्न भइ विद्युत उत्पादन सुरु हुने बताएका हुन्।

चालु आर्थिक वर्षमा भने २५६.२ मेगावाट क्षमताको जलविद्युत मात्रै राष्ट्रिय प्रशारणमा थपिने छ ।

चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने आयोजनाहरुमा रसुवा स्थित ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए, २५ मेगावाटको काबेली बी १ पाँचथर, २३.५ मेगावाटको सोलू सोलुखुम्बु, १४ मेगावाटको कुलेखानी तेस्रो मकवानपुर आदि रहेका छन् ।

त्यस्तै, आगामी आर्थिक वर्षमा भने उल्लेख्य परिणाममा विद्युत उत्पादन थपिने छ । १००७.८ मेगावाट क्षमताको जलविद्युत आयोजना राष्ट्रिय प्रशारणमा थपिने बताइएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा निर्माण सम्पन्न हुने जलविद्युत आयोजनाहरुमा दोलखास्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना मुख्य रहेको छ ।

त्यस्तै १ सय ११ मेगावाटको रसुवागढी, ८२ मेगावाटको लोअर सोलु, ४२.५ मेगावाटको साञ्जेन आदि रहेका छन् ।

आर्थिक सर्वेक्षणले चालु आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युत चुहावटमा पनि कमी आएको बताएको छ ।

अघिल्लो आर्थिक वर्षमा २०.५ प्रतिशत रहेको विद्युत चुहावट चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १७.९ प्रतिशतमात्रै रहको तथ्याङ्कमा उल्लेख रहेको छ ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षमा विद्युतको माग र आपूर्ति बिचको फरक ३ सय ५७ मेगावाट रहेको थियो भने चालु आर्थिक वर्षमा विद्युतको माग र आपूर्तिमा २० मेगावाटको मात्रै फरक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here