इन्टरमिलानमाथि युभेन्टसको सहज जित, रोनाल्डोले गरे दुई गोल

काठमाडौं, २१ माघ । कोपा इटालीयाको सेमिफाइनलको पहिलो लिगमा युभेन्टस विजयी भएको छ ।

गएराती सम्पन्न खेलमा युभेन्टसले इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो । यस जितसँगै युभेन्टसले दुई साता अघि इटालियन सिरी ‘ए’ मा भोगेको २–० को हारको बदला लिन सफल भएको छ ।

मिलानोमा मंगलबार राति भएको खेलमा सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।खेलको नवौं मिनेटमा लोउटारो मार्टिनेजको गोलमा इन्टरले अग्रता लिएको थियो । उनले निकोलो बरेल्लाको पासमा गोल गरेका थिए ।

२६औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट युभेन्टस खेलमा फर्कियो । एस्ले योङले पेनाल्टी बक्समा जुवान कोर्डाडोमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रोनाल्डो चुकेनन् ।

३५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । मिलान स्क्रिनिएरको ब्याक पासमा गोलरक्षक समिर हान्डानोभिक र एलेसान्द्रो बास्टोनीबीच तालमेल नमिल्दा रोनाल्डोले फार पोस्टमा सहजै गोल गरेका थिए ।

४३औं मिनेटमा फेडरिको बर्नरडेस्चीको क्रसमा रोड्रिगो बेन्टानकरको प्रयासलाई गोलरक्षक हान्डानोभिकले बचाए । ५७औं मिनेटमा एलेक्सिस सान्चेजको फ्रिकिकमा गोलरक्षक जियानलुजी बुफोन बिट भएपनि मेरिह डेमिरले बललाई गोललाईन बाट क्लियर गर्दै इन्टरको बराबरी टारे ।

६८औं र ६९औं मिनेटमा सान्चेजले दुई सुवर्ण अवसर पाएपनि म्याथिज डि लेग्ट र गोलरक्षक बुफोनले बचाए । ७५औं मिनेटमा इभान पेरिसिसको क्रस पासमा निकोलो बरेल्लाको प्रयासमा बुफोन नै बाधक बने । ७८औं मिनेटमा पेरिसिसको प्रयासमा बुफोन नै बाधक बने । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here