कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषक मेला गर्ने

चितवन, १५ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको दशौँ स्थापना दिवसको अवसर पारेर यही जेठ ३२ देखि असार ३ गतेसम्म कृषि प्रदर्शनी तथा कृषक मेलाको आयोजना गरिने भएको छ ।

मेला विश्वविद्यालयको रामपुरमा रहेको कृषि सङ्कायको परिसरमा गर्न लागिएको हो । मेला सचिवालयका संयोजक प्राडा अर्जुन श्रेष्ठका अनुसार मेलामा कृषिसँग सम्बन्धित ५० वटा कक्ष रहनेछन् ।

ती कक्षहरुमा कृषि यान्त्रिकीकरण र कृषि पदार्थ, बीउ बिजनको उत्पादक र बिक्रेता, कृषिमा सम्बन्धित बीमा कम्पनी र बैंक, कृषिको सूचना प्रविधि, कृषिसँग सम्बन्धित सरकारी र गैरसरकारी संस्था, नर्सरी र व्यावसायिक तरकारी बिक्रेताको सहभागिता रहने श्रेष्ठले जानकारी दिए ।

हरेक वर्ष आयोजना गर्ने गरी शुरु गर्न लागिएको मेलामा हरेक दिन चितवन र आसपासका क्षेत्रमा व्यावसायिक तरकारी र फलफूल खेतीमा देखापरेका समस्याबारे अन्तरक्रिया गरिनेछ । सो अवसरमा कृषि वैज्ञानिकहरुसँग कृषकले प्रत्यक्ष रुपमा भेटेर आफ्नो समस्या राख्न सक्ने विश्वविद्यालयले जनाएको छ ।

अध्ययन अनुसन्धान र प्रसारको काम गर्ने गरी विसं २०६७ असारमा स्थापना भएको सो विश्वविद्यालयले अनुसन्धानका क्रममा प्राप्त गरेका उपलब्धिहरुलाई कृषकसमक्ष पु¥याउन मेला उपयोगी हुने श्रेष्ठको भनाइ छ ।

मेलाको सहआयोजकमा भरतपुर महानगरपालिका, प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहेका छन् भने प्रवद्र्धकमा उद्योग वाणिज्य सङ्घ चितवन रहेको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here